हेटौंडा उपमहानगरपालिका ।

हेटौंडाः हेटौडा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयको प्रथम त्रैमासिक परीक्षा सकिएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको आयोजनामा भएको प्रथम त्रैमासिक परीक्षा आइतबार सकिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको ७३ मध्ये ५६ विद्यालयहरुको परीक्षा असार २३ गते सुरु भएर आइतबार सकिएको समन्वय समितिका परीक्षा संयोजक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभएको छ । समन्वय समितिमार्फत् सञ्चालित परीक्षामा १२ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको परीक्षा संयोजक पोखरेलले बताउनुभयो ।

हेटौंडाका ५६ वटा सामुदायिक विद्यालयहरुबाट कक्षा–१ देखि १० सम्मका १२ हजार ६ सय ४९ विद्यार्थीहरुले परीक्षा दिएको उहाँले बताउनुभयो । दुई सिफ्टमा सञ्चालन गरेको परीक्षामा कक्षा–१ देखि कक्षा–१० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार विद्यार्थीहरुको परीक्षा बिहान १०ः३० बजेदेखि १२ः३० सम्म र दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म सञ्चालन भएको थियो । पहिलो त्रैमासिक परीक्षा भएका कारण १ कक्षादेखि ९ सम्म ५० पूर्णाङ्कको प्रश्नपत्र तयार गरिएको थियो । नयाँ शैक्षिक सत्रको सुरुवातमा पढाइ धेरै नभएका कारण ५० पूर्णाङ्कको परीक्षा सञ्चालन गरेको उहाँको भनाइ छ ।

हेटौंडा–४ स्थित श्रमिक माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालय, हेटौंडा–६, चौघडास्थित वंशगोपाल माध्यमिक विद्यालय, हेटौंडा–१८ हटियास्थित बालबोध माध्यमिक विद्यालय र शुभ प्राथमिक विद्यालयले आफैँले प्रश्नपत्र तयार गरेर परीक्षा सञ्चालन गरेका थिए ।

उपमहानगरको शैक्षिक क्यालेण्डरअनुसार आज असार ३१ गतेबाट साउन २२ गतेसम्म वर्षे विदा हुनेछ । हेटौंडा उपमहानगरमा एसईईको ग्रेडवृद्धि परीक्षा केन्द्र कायम भएका सिद्धार्थ मावि र श्रमिक माविले भने अहिले वर्षे विदा नदिने भएका छन् । एसईई परीक्षा सञ्चालन हुने समयमा पठनपाठन नहुने भएपछि उक्त समयमा वर्षे विदा दिने गरी अहिले कक्षा सञ्चालन गर्न लागेको श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दहालले जानकारी दिनुभयो ।

यस्तै, मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको विद्यालयहरुको पनि आज आइतबार परीक्षा सकिएको छ । असार २४ गतेबाट सुरु भएको परीक्षा आइतबार सकिएको हो । गाउँपालिकाको विद्यालयहरुको परीक्षामा ५ हजार ४ सय २६ जना विद्यार्थीहरु अध्यनरत छन् ।