कोरा साइकल च्यालेन्जको तस्वीर ।

हेटौंडाः हेटौंडामा तेस्रो संस्करणको मकवानपुर हेटौंडा कोरा साइकल च्यालेन्ज सम्पन्न भएको छ । हिमालयन राइडर्स सोसाइटीको आयोजना तथा विभिन्न निकायहरुको सहयोगमा शनिबार मकवानपुर कोरा साइकल च्यालेन्ज सम्पन्न भएको हो ।

हेटौंडा–१० स्थित भूटनदेवी मन्दिरबाट बिहान ८ बजे कोरा साइकल सुरु भएको थियो । कोरा साइकल च्यालेन्जमा सहभागीहरुले कर्रा पुल हुँदै गुम्बाचोक, सिमेन्टरोड, कुष्माण्ड सरोवर त्रिवेणीधामबाट फेरि पहिलाकै रुटमा फकिएर बुद्धचोक, हनुमान मन्दिर, चौकीटोलको ओरालो, लोकप्रियचोकबाट ओमशान्ति, जलेश्वर, वनस्खण्डी, मुक्तिनाथ, बुढानीलकण्ठ, दक्षिणकाली, रुद्रेश्वर, हेटौंडा–५ पिप्लेस्थित पिप्ले क्याम्पा रंगशाला, गर्दोई लक्ष्मीनारायण मन्दिर चिसापानी, भैरवरोड र चिल्ड्रेनपार्क रोडबाट पशुपतिनाथ मन्दिर हुँदै हुप्रचौरमा आएर कोरा साइकल च्यालेन्ज सम्पन्न गरेका थिए ।

२ सय जनाभन्दा बढी साइकल चालकको सहभागितामा २० वटा मन्दिरको परिक्रमा गरेर २१ किलोमिटरको यात्रा गरिएको सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले जानकारी दिनुभएको छ । संसारभरी जुलाई १६ मा आयोजना हुने गरेको कोरा साइकल यो वर्ष जुलाई १३ मै आयोजना गरिएको उपाध्यक्ष थापा मगरले बताउनुभयो । कोरा साइकलमा सहभागी हुनेहरुसँग प्रतिव्यक्ति १ सय ५० रुपैयाँका दरले शुल्क लिइएको उहाँले बताउनुभयो ।

मकवानपुरको धार्मिक एवम् पर्यटकीय क्षेत्रको सम्भावनाको उजागर गर्ने लक्ष्य राखेर आयोजना गरेको कोरा साइकल यात्राको क्रममा प्रतिकूल मौसमको कारण र भारी वर्षाको कारणले धनजनको क्षति भइरहेको अवस्थामा पनि कोरा साइकल सफतलापूर्वक सम्पन्न भएको उहाँले बताउनुभयो । कोरा साइकल च्यालेन्जमा सहभागी भएका साइकल चालकहरुलाई सर्ट र प्रमाणपत्र पनि प्रदान गरेको उहाँले बताउनुभयो ।

कोरा साइकल च्यालेन्ज आयोजनाका लागि डिएचआइ बाइक फेम काठमाडौं, शिला एयर कन्डिस्नर एन्ड रेफ्रीजेरेटर, सौभाग्य सुनचाँदी पसल, उत्तम खुवा घर, जे एण्ड बी बारिस्टा एकेडेमी, गोर्खाली इन्टरप्राइजेज, गोर्खाली अटो सप्लायर्स, हेटौंडा मोबाइल, शुभलक्ष्मी मोबाइल, आरजे मोबाइल, कृषि विकास बैंक÷सिएडी, राज मोटर्स, सुस्माज ब्युटी एकेडेमी, गरिमा सप्लायर्स÷कृषा ट्रेडर्स, समाचार केन्द्र, हीरा आर्ट्स, सूर्य आर्ट्स, न्यु पर्वत आर्टस्, हेटौंडा फोटो लिंक, बुद्ध मेडिकल हल, हिमालयन राईडर्स एण्ड एमटीबी सप, पिएम सेन्टर, ईश्वर पाठक, विश्वम्भर दासलगायतले सहयोग गरेका थिए ।