बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिनहुने भएको छ । मुख्यमन्त्री जमकट्टेलले उक्त दिन विश्वास मत लिन बागमती प्रदेश संसद् सचिवालयमा पत्र पठाएका संसद् सचिवालयले जनाएको छ ।

असार २४ गते नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जमकट्टेल अल्पमतमा पर्नुभएको थियो । २०७९ पुस २५ गते प्रदेश सरकारको नेतृत्व सम्हाल्नु भएका मुख्यमन्त्री जम्कट्टेलले ३ पटक प्रदेश सभामा विश्वासको मत लिएर सरकार टिकाउनुभएको थियो । उहाँले एमाले, राप्रपा माओवादी केन्द्रको गठबन्धनबाट २०७९ माघ ३ मा विश्वासको मत लिनुभएको थियो । सो समयमा १ सय ५ सदस्यको समर्थन पाउनुभएका जम्कट्टेल नेतृत्वको सरकार फागुन १० मा अल्पमतमा परेको थियो । त्यसपश्चात काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट चैत १० मा विश्वासको मत लिनुभएका उहाँले ६७ सांसदको समर्थन पाउनुभयो । १ बर्ष संचालन भएको उक्त समीकरण २०८० फागुन २१ मा ढले पश्चात एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा चैत १९ मा विश्वासको मत लिनुभयो । सो समय उहाँले सरकार गठन र टिकाउन आवश्यक सामान्य बहुमत ५६ सांसदको समर्थन पाउनुभयो ।

१ सय १० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् ।