कार्यक्रमको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४ मा डेंगु रोगको जोखिम उच्च देखिएको छ । स्वास्थ्य निर्देशनालय, हेटौंडाले ४ नम्बर वडामा गरेको एकीकृत भेक्टर सर्भिलेन्सअन्तर्गत डेंगु भेक्टर सर्भेको नतिजाअनुसार हेटौंडा–४ मा डेंगु रोगको जोखिम उच्च रहेको बताइएको हो ।

निर्देशनालयले जेठ ३० गतेदेखि असार ४ गतेसम्म गरेको सर्भेको नतिजा आइतबार हेटौंडा उपमहानगरपालिकाको सभाहलमा सार्वजनिक गरेको थियो । स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य प्रशासक सञ्जु राजको अध्यक्षता र हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्देनालयकी किट वैज्ञानिक (ईन्टोमोलोजिस्ट) रीता बडुले सर्भेको प्रस्तुतिकरण गर्नुभएको थियो ।

निर्देशनालयले एकसय ६ वटा घर तथा सार्वजनिक स्थानमा सर्भे गरेको थियो । वडाको विभिन्न स्थान तथा घरमा लार्भा र प्युपाको खोजी गर्दा एक सय ६ वटा घरमध्ये ७७ वटा घरमा लार्भा र प्युपा पाइएको थियो । यस्तै, ३ सय ५१ वटा पानी भरिएका कन्टेनर र भाँडाकुँडाहरुमध्ये एक सय ६१ वटा कन्टेनरमा लार्भा र प्युपा पाइएको बडुले बताउनुभयो । बडुका अनुसार वडाबाट ३ सय १८ वटा प्युपा संकलन भएका छन् । सर्भेको क्रममा प्युपा र लार्भाबाट उत्पन्न वयस्क एडिज लामखुट्टेको संख्या ४ सय ८ रहेको उहाँको भनाइ छ ।

निर्देशनालयले हेटौंडा–४ मा रहेका टायरबाट ९० दशमलब ९ प्रतिशत लार्भा र प्युपा संकलन गरेको छ । वडामा एडिस लामखुट्टेको लार्भा र प्युपा सूचकाङ्क न्यूनतम सीमाभन्दा बढी रहेकाले डेंगु रोग सङ्क्रमणको उच्च जोखिम रहेको बडुले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाले डेंगु रोकथामका लागि एक लाख रुपैयाँ लगाएको नगर प्रमुख लामाले बताउनुभयो । डेंगुसम्बन्धी योजनाबद्ध काम हुने लामाले प्रतिबद्धता जनाउनुभएको छ । हेटौंडा–४ मात्र नभई हेटौंडाको १९ वटै वडामा डेंगुको जोखिम रहने देखिएको छ ।