हेटौँडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध परेको रिटमा उच्च अदालत हेटौँडा पाटन इजलासले कारण देखाउ आदेश जारी गरेको छ । सोमबार न्यायाधीश शकुन्तला घिमिरेको एक इजलासले उक्त आदेश जारी गरेको हो ।
आइतबार गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनासहित वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरुले गाउँपालिकाका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानविरुद्ध उत्प्रेषण परमादेश मुद्दामा रिट दायर गर्नुभएको थियो । उक्त मुद्दामा न्यायाधीश घिमिरेले अन्तरिम आदेशमा छलफलका लागि झिकाउने आदेश जारी गर्नुभएको छ । न्यायाधीश घिमिरेले रिट निवेदकहरुको निवेदन माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन, निवेदकको माग बमोजिम आदेश जारी हुनुपर्ने नपर्ने कुनै आधार, प्रमाण र कारण भए सोसमेत खुलाई म्याद सुचना तामेल भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र आफैं वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनेको छ । न्यायाधीश घिमिरेले असार २८ गतेका लागि रिट निवेदक र विपक्षीलाई उपस्थित हुन आदेश दिनुभएको छ ।