हेटौँडाः मकवानपुर जिल्लामा पनि चार्टर्ड एकाउण्टेण्ट्स संघ (ए–क्यान) गठन भएको छ । आइतबार एक कार्यक्रमका बीच संघको मकवानपुर जिल्ला समितिको घोषणा गर्दै नवनिर्वाचित समितिलाई सपथ गराइएको छ । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको मकवानपुर जिल्ला सभापतिमा अंकित अर्याल, उपसभापतिमा किरण ढोडारी, सचिवमा रोहित धिताल, कोषाध्यक्षमा सुजिव मैनाली, सदस्यमा आकाश कुमार भेटवाल र निरज गौतम चयन हुनुभएको छ ।
नेपालमा चार्टर्ड एकाउण्टेण्ट्स संघ स्थापनाको ४७ बर्षपछि मकवानपुर जिल्ला समिति गठन भएको हो । संघको मकवानपुर जिल्ला समिति नवौं जिल्ला समिति भएको हो । ए–क्यान बागमती प्रदेश समितिका सभापति निशान पौडेलको अध्यक्षतामा सपथग्रहण कार्यक्रम भएको हो । कार्यक्रममा ए–क्यानका केन्द्रीय समिति सदस्य सौरभ अधिकारी र अनुप अर्याल, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवाल, मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाट, अडिटर्स एसोसिएसन अफ नेपाल (अडान) का केन्द्रीय समिति उपमहासचिव राजेन्द्र ढुंगाना, अडान बागमती प्रदेश समिति अध्यक्ष रामकुमार बर्तौला, अडान मकवानपुरका अध्यक्ष पूर्णमान श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवालले चार्टर्ड एकाउण्टेण्टहरु मकवानपुरमै संगठित हुनु मकवानपुरको विकासको मानक समेत भएको बताउनुभयो । मकवानपुर क्याम्पस व्यवस्थापन संकायको उच्च शिक्षा अध्यापन गराउने संस्था भएकोले ए–क्यानसँग सहकार्य गरेर विद्यार्थीलाई लेखासम्बन्धी अद्यावधिक विषयमा जानकारी गराउने गरी सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो । ए–क्यानको उपस्थितिले मकवानपुरको व्यावसायिक वातावरण निर्माण पनि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । ए–क्यान मकवानपुरका नवनिर्वाचित अध्यक्ष अंकित अर्यालले मकवानपुर जिल्लामा थोरै संख्यामा चार्टर्ड एकाउण्टेण्ट रहे पनि आगामी दिनमा चार्टर्ड एकाउण्टेण्टको संख्या बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।