यु–१८ को विभागीय टोलिमा छनोट हुने हेटौँडा फुटबल एकेडेमी सहित अन्य खेलाडी ।

हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा फुटबल एकेडेमीका खेलाडी विभागीय टोलीमा छनोट भएका छन् । एकेडेमीका ६ जना खेलाडीहरु यु–१८ सशस्त्र प्रहरी बल (एपीएफ)को विभागीय टोलीमा छनोट भएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन लागेको क्लबस्तरीय राष्ट्रिय फुटबल लिग प्रतियोगिताका लागि फुटबल एकेडेमीका ६ जना खेलाडीहरु एपीएफ क्लबमा छनोट भएको क्लबका अध्यक्ष तथा एएफसी बी लाइसेन्स प्राप्त प्रशिक्षक भीम लामाले जानकारी दिनुभएको छ । क्लबका आवद्ध भएका हेटौंडा–४ का शक्तिमान थिङ, अभिन योञ्जन, मनहरी गाउँपालिकाका प्रजेश मोक्तान, हेटौंडा–१२ का विश्वास भोलन, हेटौंडा–१५ का अस्मिर गोङ्बा र मकवानपुरगढी गाउँपालिकाका विकास तितुङ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको प्रशिक्षक लामाले बताउनुभयो ।

एकेडेमीका प्रशिक्षक लामाले क्लबमा ३ वर्षदेखि प्रशिक्षण लिँदै आएका एपीएफको छनोट प्रतियोगितामा सहभागी हुनयोग्य ६ जना खेलाडीहरुलाई काठमाडौं पठाएको उहाँले बताउनुभयो । एपीएफको छनोट प्रतियोगितामा सहभागी भएका ६ जना नै छनोटमा पर्न सफल भएको बताउनुहुँदै एकेडेमीका खेलाडीहरुले पनि क्लबस्तरीय राष्ट्रिय लिग प्रतियोगितामा सहभागी जनाउन पाएमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

एपीएफको १८ वर्ष उमेर समूहको टिममा मकवानपुरका विभिन्न पालिकाहरुका खेलाडीहरु सहभागी भएका छन् । काठमाडौंमा करिब ५ दिन भएको छनोट प्रतियोगिताबाट अन्य जिल्लाका खेलाडीहरुसँग प्रतिस्पर्धा गरेर मकवानपुरका खेलाडीहरु विभागीय टिममा पर्न सफल भएको उहाँको भनाइ छ । छनोट प्रतियोगितामा मकवानपुरका खेलाडीहरुले अन्य जिल्लाबाट आएका खेलाडीहरुसँग प्रतिस्पर्धा गरेको उहाँले बताउनुभयो ।

एपीएफ क्लबमा समावेश भएका खेलाडीहरुले अन्य खेलाडीहरु विदेशिने क्रम बढ्दै गएको खण्डमा नेपालकै राष्ट्रिय टिममा सहभागी हुने राम्रो अवसर प्राप्त गर्ने उहाँको भनाइ छ । मकवानपुरका खेलाडीहरुलाई एपीएफको बन्द प्रशिक्षणमा सहभागी भएर नयाँ अनुभव हासिल गर्ने मौका प्राप्त भएको उहाँले बताउनुभयो । बन्द प्रशिक्षणमा सहभागी भएका खेलाडीहरु ४ महिनासम्म एपीएफ क्लबमा समावेश हुने उहाँले बताउनुभयो । प्रशिक्षणमा मकवानपुर जिल्लाका ६ जना खेलाडीहरुसहित अन्यगरी ३० जना खेलाडीहरु सहभागी भएको उहाँले बताउनुभयो । एन्फाले आयोजना गर्न लागेको राष्ट्रिय लिग प्रतियोगितामा एपीएफसहित अन्य विभिन्न विभागीय क्लबहरुको सहभागिता रहनेछ ।

प्रशिक्षक लामाले खेलाडीहरुलाई लामो समयदेखि प्रशिक्षण दिँदै आएको नतिजा प्राप्त हुने अपेक्षा गरेको बताउनुभयो । फुटबल एकेडेमीको माध्यमबाट खेलाडी उत्पादन गर्नका लागि विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएकाले पनि अहिले ६ जना खेलाडीहरु विभागीय टोलीमा पर्न सफल भएको उहाँको भनाइ छ । विगत ९ वर्षदेखि फुटबल प्रशिक्षण दिँदै आउनुभएको प्रशिक्षक लामाले थुप्रै राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सफल हुनुभएको छ ।

मकवानपुरको विभिन पालिकाहरुका खेलाडीहरुलाई प्रशिक्षण दिँदै आउनुभएका लामाले खेलाडीहरुको आकर्षण बढाउनका लागि आफ्नै खर्चमा जिल्लाले आयोजना गरेको र बाहिरी जिल्लाले अयोजना गरेको प्रतियोगितामा सहभागी गराउने गर्नुभएको छ । खेलाडीहरुको मनलाई बुझेर र उनीहरुको रुचि, क्षमतालाई मूल्याङ्कन गरेर प्रशिक्षण दिन सकेमा खेलाडीहरु राष्ट्रिस्तरको प्रतियोगितामा समावेश हुनसक्ने उहाँले दावी गर्नुभयो ।

हेटौंडा–४ स्थित हुप्रचौरमा हुने फुटबल प्रशिक्षणमा दैनिक ७० जनाको हाराहारीमा खेलाडीहरु आउने गरेको उहाँले बताउनुभयो । मकवानपुर जिल्लामा महिला खेलाडीहरुलाई पनि विशेष प्राथमिकता दिने उद्देश्यले महिलालाई पनि प्रशिक्षण दिने गरेको उहाँले बताउनुभयो । महिला खेलाडीहरुलाई फुटबलप्रति रुचि बढाउनका लागि विभिन्न प्रतियोगितामा सहभागी गराउने, खेलकुद सामग्रीको व्यवस्था गर्नुपर्ने, प्रदेश, स्थानीय र संघीय सरकारले बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाइ छ । फुटबल खेल्न इच्छुक महिला खेलाडीहरुलाई पनि प्रशिक्षक लामाले प्रशिक्षण दिने गरेको बताउनुभयो ।

जिल्लामा महिला खेलाडीको संख्या निकै कम रहेको भन्दै महिला खेलाडीलाई सबैले प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो । समाजका मानिसहरुले खेल क्षेत्रलाई राम्रो दृष्टिकोणले नहेर्ने भन्दै महिला खेलाडीको हौसला बढाउनुको सट्टा महिलाको मजाक उडाउने गरेको बताउनुभयो । अभिभावक एवम् विद्यालय, कलेजले खेलाडीहसँग सकारात्मक व्यवहार गर्नुपर्ने र महिला खेलाडीका लागि लगानी गर्नुपर्ने उहाँको भनाइ छ ।