हेटौंडाः जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयकी प्रमुख डा. ललिता पाण्डेले चिकित्सालयको भवन निर्माण सम्पन्न भएपछि सेवा थप गुणस्तर हुने बताउनुभयो । मंगलबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा भएको आयुर्वेद सेवा प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले भवन निर्माण सम्पन्न भएपश्चात् सेवा थप गुणस्तरीय हुने बताउनुभएको हो ।
हेटौंडा–२ स्थित वनस्खण्डी टोलमा रहेको आयुर्वेदिक केन्द्रमा सेवा प्रदान गर्न ठाउँ सानो भएको उहाँको भनाइ छ । कार्यक्रममा पाण्डेले १६ शैयाको अस्पताल बनाउने निर्णय भइसकेको बताउनुभयो । हेटौंडा उपमहानगरपालिका अगाडि भएको पुरानो भवन भत्काएर अहिले नयाँ भवन बन्ने क्रममा छ । आयुर्वेद औषधीलाई सम्बोधन गर्दै उहाँले धेरै व्यापारीहरुले अन्य औषधीलाई आयुर्वेद औषधी भनी बेच्ने गरेको बताउनुभयो ।
कार्यक्रममा डा. पाण्डेले चालु आर्थिक वर्षमा भएको कार्य विवरणसम्बन्धी प्रस्तुतिकरण गर्नुभएको छ । जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले चालु आर्थिक वर्ष २०८०÷०८१ को जेठ मसान्तसम्म १७ हजार ६ सय ८० जनालाई आयुर्वेदिक सेवा प्रदान गरेको पाण्डेले बताउनुभयो । मातहतका रहेका ५ वटा औषधालयबाट ३२ हजार ९ सय ९१ जनाले सेवा लिएका छन् ।
चिकित्सालयले चालु आर्थिक वर्षमा विभिन्न कार्यहरु गरेको छ । चिकित्सालयले हरेक सोमबार मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम गर्ने गरेको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन भएको पाण्डेको भनाइ छ । महिला स्वास्थ्य स्वयम्सेविकाहरुमा आयुर्वेद र आयुर्वेद सेवासम्बन्धी सचेतना अभिवृद्धि भइरहेको उहाँको भनाइ छ । नागरिक आरोग्य केन्द्रमार्फत् ग्रामीणस्तरका नागरिकहरुको जीवनशैलीमा परिवर्तन आएको छ भने आयुर्वेद तथा वैकल्पिक चिकित्साबारे चेतनासँगै पहुँचसमेत बढेको छ । पञ्चकर्म सेवा विस्तारसँगै चिकित्सा प्रभावकारी भएको भन्दै पाण्डेले पञ्चकर्म, अकुपन्चर र फिजियोथेरापी सेवा संयुक्त गर्दा बढी प्रभावकारी भएको बताउनुभयो ।