फाइल तस्वीर ।

हेटौँडाः प्रथम संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिता आज बिहीबारबाट सुरु हुने भएको छ । सिमपानी युथ क्लबको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा प्रतियोगिता हुन लागेको हो ।

गाउँपालिकाको वडा नम्बर ८ स्थित सिमपानी मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरा युथ क्लब र नमुना युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी, बागमती पुलिस, कैलाश आरएम, एमडीवाईसी बारा, इन्द्रकुमार युथ क्लब, हासु एफसी मनहरी, एफसी मिनथा, इन्टरमेट सिटी र भोरलगरी टोल विकास संस्था गरी १२ टिमको सहभागिता रहनेछ ।

गाउँपालिकाको पूर्वफुटबल खेलाडी मिलन र धर्मराजको स्मृतिमा यस वर्षबाट प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ । स्कुटर दुर्घटनामा निधन भएका धर्मराजको स्मृतिमा प्रतियोगितालाई निरन्तरता दिने लक्ष्य रहेको आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि गाउँपालिकाबाट सामग्री सहयोग प्राप्त भएको छ । प्रतियोगिताका लागि स्थानीय क्रसर व्यवसायी र अन्य व्यक्तिहरुबाट पनि सहयोग प्राप्त भएको छ ।

खेलाडीबीच भातृत्व कायम गराउन, राष्ट्रिय खेलाडी उत्पादन गर्न र फुटबल खेलको महत्वबारे बुझाउन प्रतियोगिता आयोजना गर्न लागेको जनाइएको छ । फिफाको नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा सहभागी प्रतियोगीहरुले कुनै प्रकारको झै–झगडा गरेमा प्रतियोगिताबाट बाहिरनेछन् । प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँ र उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल असार ३१ हुनेछ ।