हेटौँडाः नेकपा एमाले मकवानपुरले जिल्ला कमिटीमा ५ जनालाई मनोनित गरेको छ । गत जेठ तेस्रो साता सम्पन्न १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको बुधबार बसेको दोस्रो बैठकले नरहरि महत, बुद्धिराम डिम्डुङ, रामचन्द्र स्याङ्बो, प्रेमबहादुर पुलामी र नमूना पाण्डेलाई जिल्ला कमिटी सदस्य मनोनित गरेको हो ।
जिल्ला अधिवेशनबाट अध्यक्ष श्रीधर पोखरेलसहित १०६ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको थियो । ५ जना सदस्य मनोनित गरेसँगै नेकपा एमालेको जिल्ला कमिटी १ सय ११ सदस्यीय बनेको छ । बैठकले वार्षिक कार्ययोजना पनि पारित गरेको छ । पार्टी केन्द्रीय कमिटीको १२ बुँदे निर्देशनमा आधारित रहेर जिल्लाका १० वटै पालिकालाई केन्द्रित गरी पार्टीको संगठन, विचार, जनसंगठन, समृद्धि, विकास र निर्माणको क्षेत्रलाई समेटेर वार्षिक कार्ययोजना बनाइएको अध्यक्ष पोखरेलले बताउनुभयो । जिल्ला सचिवालय भने अर्को बैठकले गठन गर्ने नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिनुभएको छ ।
बुधबार नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा बसेको बैठकले पालिकाका इन्चार्ज र सहइन्चार्ज तोकेको छ । नेकपा एमालेको हेटौँडा उपमहानगरपालिका इन्चार्जमा अनिल कुमार बानियाँ, सहइन्चार्जमा रमिला सापकोटा, शिवहरि दाहाल, मिलन पाठक र प्रतिमा श्रेष्ठलाई जिम्मेवारी दिएको छ । थाहा नगरको इन्चार्जमा बिमल ढकाल, सहइन्चार्जमा हरि गोपाली र डम्बर लामालाई जिम्मेवारी दिइएको छ ।
मनहरी गाउँपालिकाको इन्चार्जमा हेमलाल उप्रेती, सहइन्चार्जमा मनिला विष्ट र वीरेन्द्र डीसी, बागमती गाउँपालिकाको इन्चार्जमा राजकुमार तिमल्सिना, सहइन्चार्जमा उत्तम पौडेल र जयबहादुर वाईबा, बकैया गाउँपालिकाको इन्चार्जमा नारायण तिमल्सिना, सहइन्चार्जमा बेलप्रसाद दाहाल र सरला बोलखेलाई जिम्मेवारी दिइएको छ ।
मकवानपुरगढी गाउँपालिकाको इन्चार्जमा विदुर हुमागाई, सहइन्चार्जमा मेम्बर लो र खिलप्रसाद चौलागाई, भीमफेदी गाउँपालिकाको इन्चार्जमा जहारसिं लामा, सहइन्चार्जमा प्रकाश पौडेल र चेतकुमारी पुडासैनी, ईन्द्रसरोवर गाउँपालिकाको इन्चार्जमा ऋषि पुडासैनी, सहइन्चार्जमा धनवीर स्याङ्तान, बुद्धिराम डिम्डुङ र राजन ठकुरीलाई जिम्मेवारी दिइएको छ । यस्तै कैलाश गाउँपालिकाको इन्चार्जमा बच्चुराम ढुंगाना र सहइन्चार्जमा छेकु लामा, राक्सिराङ गाउँपालिकाको इन्चार्जमा बाबुलाल स्याङ्तान, सहइन्चार्जमा सुन्तलीमाया चेपाङ र सिंहलाल प्रजालाई जिम्मेवारी दिइएको नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिनुभयो ।
यस्तै बैठकले पार्टीको २१ वटा विभागमा प्रमुख र उपप्रमुख तथा २२ वटा मोर्चा संगठनको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । यसका साथै पार्टीले मकवानपुर जिल्लाका १ सय २ वटै वडामा जिल्ला कमिटी सदस्यहरुलाई पार्टी परिचालनको जिम्मेवारी दिइएको पोखरेलले जानकारी दिनुभयो ।
बैठकमा पार्टीको सदस्यता वृद्धिको योजना पनि प्रस्तुत भएको नेकपा एमाले मकवानपुरकी सचिव सीता विष्टले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय निर्देशनअनुसार जिल्लाको कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउनुपर्ने जानकारी दिनुहुँदै सचिव विष्टले भन्नुभयो, “मकवानपुरमा अहिले नेकपा एमालेमा ११ हजार मतदाता छन् । पार्टीको केन्द्रीय निर्देशनअनुसार कुल मतदाताको ६ प्रतिशत सदस्य अर्थात् करिब १८ हजार सदस्य बनाउनुपर्ने देखिन्छ । एक बर्षभित्र मकवानपुर जिल्लामा एमालेको सदस्य संख्या ७ हजार थप्नुपर्ने छ ।”