बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले खानेपानीको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । मंगलबार खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले हेटौँडामा आयोजना गरेको गोष्ठीमा बोल्नुहुँदै उहाँले गत आर्थिक बर्षमा खानेपानी आयोजनाका लागि पैसा छुट्याएर स्रोत सुनिश्चित गर्ने क्रममा बजेटमा केही त्रुटि भएको स्वीकार्नुहुँदै यसपटक भने गम्भीरतापूर्वक छलफल गरेको बताउनुभयो ।

त्यसका लागि बजेट व्यवस्था गरेर आयोजनाहरु सम्पन्न गर्ने सरकारको पहिलो लक्ष्य रहेको उहाँले बताउनुभयो । आफु प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रहेको बेला प्रदेशभित्रका वहुबर्षीय खानेपानीका आयोजनाहरुलाई स्रोत सुनिश्चित गरेको र त्योभन्दा अगाडि प्रदेशमा खानेपानीका ठूला आयोजनाहरुको काम नभएको उहाँले दावी गर्नुभयो ।

प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट बनाउँदै गर्दा मन्त्रालयको मन्त्री र सचिवलाई आफुले पटक–पटक खानेपानीलाई पहिलो प्राथमिकता दिन आग्रह गरेको उहाँले बताउनुभयो । खानेपानीपछि दोस्रोमा सिचाई र त्यसपछि अन्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले खानेपानी कुरा आएपछि अन्तको बजेट काटेर भएपनि सबैभन्दा प्राथमिकतामा राखेर खानेपानीको काम तुरुन्त गर्नुपर्ने बताउनुभयो । ‘यो सरकारको महत्वपूर्ण जिम्मेवारी हो । यसमा बजेट छैन यताउता भन्नुहुन्न, बजेट छैन भने पनि अर्थबाट माग्नुपर्छ र अरु क्षेत्रको बजेट रकमान्तर गरेर भएपनि खानेपानीका लागि दिनुपर्छ’, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । अहिले विभिन्न स्थानमा खानेपानी उपभोक्ताहरुबीच केही विवादहरु सुनिएको भन्नुहुँदै उहाँले यसलाई चाँडो हल गर्न आग्रह गर्नुभयो । यसका लागि नीति बनाउन प्रदेश सरकारलाई सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिचाईमन्त्री एकालाल श्रेष्ठ र जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतको उपस्थिति रहेको थियो ।