होटल प्रकाशको तस्वीर ।

हेटौँडाः हेटौंडा–१० स्थित होटल प्रकाशले भ्रमपूर्ण तवरले विगत ७ बर्षदेखि मापदण्डविपरित होटल सञ्चालन गरेर सेवाग्राहीलाई ठगी गर्दै आएको पाइएको छ । नामको माथि ३ तारा लगाएर सो होटलले सेवाग्राहीलाई भ्रममा राखेर बढी रकम असुल गर्दै आएको तथ्य फेला परेको हो ।

होटल प्रकाशले हालसम्म कुनै पनि निकायबाट मापदण्डअनुसारको गुणस्तर र ३ तारे अनुमतिपत्र लिएको देखिँदैन । तर, सो होटलले खुलेआम ३ तारे होटलको रुपमा आफूलाई स्थापित गर्ने प्रयत्न गरिरहेको छ । हेटौंडा बजार क्षेत्रको मुख्य भाग हेटौँडा–१०, टिसिएन (बाइपास) रोडमा अवस्थित उक्त होटलले सेवाग्राहीलाई तारे होटलको नाममा झुक्याउँदै महंगो शुल्क असुल गर्दै आएको छ । कानुनी व्यवस्था विपरित उक्त होटलले तारे होटलको रुपमा कोठा तथा खानाको दरमा रकम असुल्दै आएको देखिन्छ ।

तारे होटलको रुपमा सञ्चालन गर्न पर्यटन विभागबाट मापदण्ड स्वीकृत गरी प्रमाणपत्र लिनुपर्ने हुन्छ । तर, हेटौंडामा २०७३ बाट सञ्चालित प्रकाश होटलले कुनै पनि मापदण्ड पूरा गरेको छैन भने विभागबाट प्रमाणपत्रसमेत लिएको देखिँदैन । राजमार्गको छेउमा नै रहेको सो होटलले गैरकानुनीरुपमा नामको माथि ३ तारा लगाएर प्रचारप्रसार गरिरहेको छ ।

होटल प्रकाशमा एकजना बस्ने एउटा कोठाको न्यूनतम दर १ हजार ८ सय रुपैयाँ रहेको छ । भारतीय मूलका पर्यटकको रोजाईमा पर्ने होटल प्रकाशमा अधिकतम ४ हजार ६ सय रुपैयाँसम्मका कोठाहरु रहेका छन् । पर्यटन विभागका सूचना अधिकारी एव् निर्देशक कालीबहादुर भुजेलका अनुसार हेटौँडामा हालसम्म एउटामात्र होटलले ३ तारे प्रमाणपत्र लिएको छ । प्रकाश होटलले तारे प्रमाणपत्रका लागि हालसम्म कुनै पनि प्रक्रिया सुरु गरेको नदेखिएको उहाँले बताउनुभयो । तारे प्रमाणपत्र विभागले जारी गर्ने र सो पत्र नभई सञ्चालन गर्नु गैरकानुनी हुने उहाँको भनाइ छ ।

यता होटल प्रकाशका सञ्चालक रवि गुप्ताले होटल सञ्चालनमा आएपछि ३ तारे होटलको रुपमा विकसित गर्ने गरी तयारी गरिए पनि कोभिड–१९ महामारी र पछिल्लो आर्थिक मन्दिका कारण प्रक्रिया पूरा गर्न नसकेको बताउनुभयो ।

यस्तो छ मापदण्ड
कानुनबमोजिम तारे होटलमा खुला र आकर्षक प्रवेशद्वार, मौसमी फूल फूल्ने बगैँचा, होटल परिसरभित्रै डुल्न, घुम्न र आराम गर्न मिल्ने सुविधासहितको शान्त र मनोरञ्जनपूर्ण वातावरण हुनुपर्ने उल्लेख छ । साथै, होटल परिसर पूर्णरुपमा धुलो र धुँवामुक्त हुनुपर्नेछ ।

तारे होटलले बनाउने संरचना भवन ऐन २०५५ तथा नियमावली २०६६ र राष्ट्रिय भवन संहिता २०६० अनुसार स्वीकृत भएको हुनुपर्नेछ । भवन आधुनिक र पुरानो भएको अवस्थामा मर्मत सम्भारदेखि ऐतिहासिक तथा सांस्कृतिक सम्पदा प्रतिबिम्बित हुनुपर्ने र ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई अवरोध नहुने प्रकृतिको बनाउनु पर्नेछ ।

यसैगरी होटलको प्रवेशद्वारमा नेपाली र अंग्रेजीमा स्पष्ट बुझिने गरी नाम हुनुपर्ने र होटलको सम्पूर्ण कागजपत्रमा समेत नाम खुलाउनुपर्ने मापदण्डमा उल्लेख छ । पार्किङ क्षमता ३ तारेका हकमा १५ वटा चार पांग्रे गाडी, २४ घण्टा नै रुम सर्भिस दिनुपर्नेछ । होटलसँग ग्राहकलाई बसपार्क र विमानस्थल पु¥याउने सुविधासम्पन्न साधन हुनुपर्नेछ भने ग्राहकको बहुमूल्य वस्तु राख्न रिसेप्सननजिकै लकर हुनुपर्नेछ ।

बत्तीको सुविधा २४ घण्टा नै हुनुपर्ने, प्रशोधित पानी हुनुपर्ने, आकाशे पानी भण्डारका प्रविधि जडान हुनुपर्ने र नियमअनुसार ढल निकासीको व्यवस्था हुनुपर्नेसमेत मापदण्डमा उल्लेख छ । होटलको लबीको क्षमता ३ तारेमा २० जना अट्ने हुनुपर्नेछ ।

सबैले देख्ने गरी कम्पनी दर्ता, उद्योग दर्ता, सञ्चालन इजाजत र ताराअंकित प्रमाणपत्र रिसेप्सननजिकै राख्नुपर्ने पनि मापदण्डमा उल्लेख छ । सुविधासम्पन्न महिला र पुरुषसहित अपांगमैत्री शौचालयसमेत हुनुपर्नेछ । रिसेप्सनमा बस्ने कर्मचारीले अंग्रेजी र नेपाली दुबै भाषामा बोलचाल गर्न सक्ने, गेष्टको लगेज रुम र पार्किङसम्म लगिदिने व्यवस्था हुनुपर्नेछ । तर, होटल प्रकाशमा न मापदण्डअनुसारको पार्किङ छ, न अन्य केही । साँघुरो क्षेत्रमा निर्माण गरिएको घरबाट सञ्चालित होटलको सरसफाईसमेत छैन ।

प्रकाश होटलले विगत ७ वर्षदेखि तारे होटलको भ्रम फैलाएर ग्राहकलाई ठग्ने काम गरेको उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका सचिव सरोज बिडारी बताउनुहुन्छ । उहाँका अनुसार तारे होटलको नाममा नागरिकबाट बढी रकम असुल गरी राजस्वसमेत छल्ने काम गरेको छ ।

फोहोर भान्सा
प्रकाश होटलको भान्सा फोहोर भेटिएको छ । आइतबार हेटौंडा उपमहानगरपालिकाको बजार अनुगमन समितिले होटलको भान्सा र प्रशासनिक कागजात अनुगन गर्दा कागजपत्र पनि फेला परेन भने भान्सा उपयुक्त भेटिएको थिएन । अनुगमनका क्रममा भान्सामा फोहर रहेको, सरसफाईमा ध्यान नदिएको, फ्रिजको अवस्था बिग्रिएको, म्याद गुज्रिएको खानेकुुरा प्रयोग गरेको भन्दै अनुगमन टोलीले सुधारका लागि १५ दिनको समय दिएको छ ।

होटलको नामअनुसार भान्साको अवस्था नरहेको पाइएको हेटौंडा उपमहानगरपालिकाकी खाद्य निरीक्षक एलिना न्यौपानेले बताउनुभयो । थ्री–स्टार होटलको रुपमा लामो समयदेखि हेटौंडामा सेवा दिँदै आएको प्रकाशलाई थ्री–स्टारको मान्यता दिएको कागजातसमेत नदेखाएको भन्दै टोलीले तीन दिनभित्र सरकारी कागजातसहित उपस्थित हुन भनेको उहाँले बताउनुभयो । होटल सञ्चालक रवी गुप्ताले भने खाना खाने समय भएकोले खाना खुवाएर सरसफाई गर्ने समयमै अनुगमन गरिएकोले फोहर देखिएको दावी गर्नुभएको छ ।