हेटौँडाः बागमती प्रदेश युवा परिषद्को आर्थिक सहयोग र सामुदायिक विकास तथा सचेतना नेपालको आयोजनामा हेटौँडा उपमहानगरपालिका–५ मा सञ्चालित थोरै लगानीमा गर्न सकिने साना व्यवसाय प्रवद्र्धनका लागि ७ दिने उद्यमशिलता तथा सीप विकास तालिम सम्पन्न भएको छ ।
सात दिनसम्म सञ्चालन भएको तालिममा आठ जना प्रशिक्षकहरुले व्यवसायको अर्थ तथा परिभाषा, स्व–विश्लेषण÷मुल्यांकन र पृष्ठपोषणको आवश्यकता र महत्व, सफल उद्यमीका विशेषताहरु, व्यावसायिक योजनाको अर्थ, आवश्यकता र महत्व, व्यावसायिक योजना, उत्पादन योजना, स्व–रोजगार र ज्यालादारी काममा भिन्नता, व्यवसायमा जोखिम तथा जोखिम व्यवस्थापनका, व्यवसाय दर्ता प्रक्रिया तथा सरकारी नीति, नियम लगायतका विषयमा सहजीकरण गरिनुका साथै चटपटे, पानीपुरी, मम, चाउमिन लागायत निर्माण तालिम तथा अभ्यासात्मक क्रियाकलाप गरिएको थियो ।
सामुदायिक विकास तथा सचेतना नेपालका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौँडा–५ का वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यमा तालिम सम्पन्न गरिएको हो । कार्यक्रममा हेटौँडा–५ का वडा सदस्य ज्ञान बहादुर थापा, राम बहादुर राई, पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समितिकी सचिव शारदा कुमारी सुवेदी लगायतको आतिथ्य रहेको थियो । सात दिनसम्म संचालित कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–२, ३, ४, ५, ६, ७, ८, १५, १७ र मकवानपुरगढी गाउँपालिकाका २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।