हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माविले शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । संघीय नमुना विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय योजना कार्यक्रमअन्तर्गत शिक्षकहरुलाई ल्यापटप वितरण गरेको विद्यालयका प्रधानाध्यापक दिनेश माझीले जानकारी दिनुभयो ।

सोमबार एक कार्यक्रमका बीच २८ जना शिक्षकहरुलाई २८ थान ल्यापटप वितरण गरिएको हो । करिब ९ लाख रुपैयाँ लागतमा खरिद गरेको ल्यापटप वितरण गरेको प्रधानाध्यापक माझीले बताउनुभयो । शिक्षकहरुलाई डिजिटल तरिकाले पठनपाठन गराउन सहज होस् भन्ने उद्देश्यले ल्यापटप वितरण गरेको उहाँले बताउनुभयो । उहाँले केही दिनभित्र सबै शिक्षकहरुलाई आईटी ज्ञानसँगै ल्यापटपमा गर्न सकिने शैक्षिक क्रियाकलापबारे प्रशिक्षण दिने बताउनुभयो । त्यसपछि शिक्षकहरुले ल्यापटपबाटै आफ्नो दैनिक पाठयोजना बनाएर विद्यालय प्रशासनलाई डिजिटल माध्यमबाट बुझाउने उहाँले बताउनुभयो । यसले गर्दा शिक्षक र विद्यार्थीहरु पढ्न पूर्वतयारी हुने उहाँको भनाइ छ । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा अहिले १ हजार १ सय जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर रानाको सभाध्यक्षता तथा बागमती गाउँपालिकाका प्रमुख सर्केश घलानको प्रमुख आतिथ्यमा भएको ल्यापटप वितरण कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष इन्द्रमणि तिमल्सिना, ३ नम्बर वडाध्यक्ष एव्म पालिकाका सामाजिक विकास संयोजक कमानसिंह पाख्रिन, शिक्षा शाखा प्रमुख प्रमोद राई र शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाश सञ्जेललगायतको उपस्थिति रहेको थियो ।