हेटौंडाः बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट असार १ गते अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत हुने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारको बजेट सार्वजनिकीकरणका लागि असार १ गते ४ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।
बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको सभामुख पाठकको भनाइ छ । बजेट प्रस्तुत भएलगत्तै संसदमा सरकारको आगामी आर्थिक वर्षको अर्थसम्बन्धी विधेयक पेश हुने र केही दिनपछि बस्ने प्रदेशसभा बैठकमा उक्त विधेयकमाथि सांसदहरुले छलफलसहित संशोधन राख्नेछन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, रोजगारी सृजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । संसद विकास कोष खारेज भएपछि बजेटमा सन्तुलन कायम गर्न सरकारले प्रत्येक सांसदहरुको ३ करोड रुपैयाँको योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट संसदको बैठकबाट सार्वजनिक गर्ने तयारीअनुसार असार १ गतेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । त्यसअघि प्रदेशसभा बैठक आगामी जेठ ३२ गते पनि बस्दैछ । जेठ ३२ गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको बैठकमा प्रदेश सरकारको आर्थिक सर्वेक्षण प्रस्तुत हुने कार्यक्रम रहेको सभामुख पाठकले बताउनुभयो ।
सभामुख पाठकका अनुसार प्रदेशसभा बैठकअघि दिउँसो १२ बजे कार्यव्यवस्था समितिको बैठक आह्वान गरिएको छ । उक्त बैठकले प्रदेशसभाको बैठक तथा प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने कार्यसूची तयार गर्ने सभामुख पाठकले बताउनुभयो ।