सोलिड्यारिटी इन्टरनेशनल स्कूलमा भएको कार्यक्रममा रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः मंगलबार हेटौँडामा ६० जनाले रक्तदान गरेका छन् । हेटौँडाको दुई स्थानमा आयोजना गरिएको कार्यक्रममा ६० जनाले रक्तदान गरेका हुन् । मंगलबार बिहान हटिया र सोलिड्यारिटी स्कूलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

हेटौँडा–१६, हटियामा भएको कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । हिमचुली कृषि तथा सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रममा ३ जना महिला र २४ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । संस्थाको साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

मंगलबार नै हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशन स्कूलको बाल सञ्जालको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । विद्यालयमा ७ जना महिला र २६ जना पुरुषले रक्तदान गरेका हुन् । कार्यक्रममा अभिभावक र शिक्षकले रक्तदान गरेका थिए । दुबै कार्यक्रममा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो । यस्तै, भोलि हुप्रचौरमा नेपाल समाजवादी पार्टीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।