हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा बालश्रम निवारणका लागि उपाध्यक्षसँग बालबालिका अन्तरसंवाद कार्यक्रम भएको छ । शनिबार गाउँपालिका, बालकल्याण समाज मकवानपुर, ग्लोबल मार्च र स्वतन्त्रता अभियानको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागी बालबालिकाले मनहरी बालमैत्री पालिका भएपनि अझै बालश्रम र बालविवाहजस्ता घटना न्यूनीकरण हुन नसकेको भन्दै उपाध्यक्षलाई ध्यानाकर्षण गराएका छन् । बालश्रमिकसहित पालिका बाल सञ्जाललगायतका सहभागी बालबालिकाले बालसंरक्षणका लागि पालिकाको नीतिको बारेमा जिज्ञासा राखेका थिए । बालश्रम निवारण तथा बालबालिकाको विद्यालय छाड्ने दर घटाउन पालिकाको योजना र बजेटको बारेमा पनि सहभागी बालबालिकाले प्रश्न गरेका थिए ।
आर्थिक अवस्था कमजोर रहेका बालबालिकालाई निःशुल्क पढाउनुपर्ने, घरबाट विद्यालय टाढा हुँदा विद्यालय छोड्नुपर्ने अवस्था अन्त्य गर्न विद्यालय बस सञ्चालन गर्नुपर्ने, बालबालिकालाई लागूऔषध दुव्र्यसनबाट बचाउन आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्ने सहभागी बालबालिकाले माग गरेका छन् । बालबालिकाको जिज्ञासा र मागका बारेमा गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरले जवाफ दिनुभएको थियो ।
उपाध्यक्ष मगरले बालबालिकाका लागि सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिकालाई गरेको लगानी खेर नजाने भन्दै पालिकाले यस वर्ष पनि बालबालिकाको क्षेत्रमा आवश्यक काम गर्ने प्रतिबद्धता जनाउनुभयो । मनहरीलाई बालश्रममुक्त पालिका घोषणा गरिए पनि अझै बालश्रमिक भेटिरहेको भन्दै उहाँले उक्त समस्या समाधान गर्ने बताउनुभयो ।
पालिकाभित्र होटल र ग्यारेजजस्ता क्षेत्रहरुमा भेटिने बालश्रमिकहरु बाहिरी पालिका र जिल्लाका पाइए पनि पालिकाभित्र बालश्रम हुन नहुने उहाँको भनाइ छ । उहाँले पालिकाले जोखिममा परेका बालिकाहरुलाई राख्ने बालगृह निर्माण गर्न नसकिरहेको भन्दै यस विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले पालिकाले शिक्षामा प्राथमिकता राखेर काम गरिहेको भन्दै पालिकाभित्रका कोही बालबालिका विद्यालयबाहिर रहनुपर्ने अवस्था नआउने बताउनुभयो । गरिबी र आर्थिक अवस्था कमजोर विद्यार्थीलाई पालिकाले निःशुल्क पढाउने उहाँले बताउनुभयो ।
बालकल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले बालमैत्री पालिका घोषणालाई निरन्तरता दिनका अझै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । बालमैत्री घोषणाको दिगोपनका लागि बालबालिकाको संरक्षण र सम्बद्र्धन गर्न आवश्यक काम गर्नुुपर्ने उहाँको भनाइ छ । बालबालिकाको मनमा भएको कुरा स्थानीय सरकारसँग राख्न र सामाजिक कामको जिम्मेवारीहरु बालमैत्री, बालअधिकार, बालपोषण, बालविवाह अन्त्य गर्नेजस्ता जिम्मेवारी पालिका उपाध्यक्षको हुने भएकाले उक्त कार्यक्रम आयोजना गरेको उहाँको भनाइ छ ।
बालकल्याण समाज मकवानपुर अध्यक्ष खतिवडाले पालिकाकी उपाध्यक्ष पुलामीलाई आगामी आर्थिक वर्षको बजेटमा बालश्रम निवारणसम्बन्धी कार्यक्रम समोवश गर्न माग गर्दै ज्ञापनपत्र बुझाउनुभएको छ । पालिकाभित्र बालश्रममुक्त स्थानीय तहका निम्ति प्रतिबद्धता गर्ने वडालाई पालिकाबाट विशेष अनुदान प्रदान गर्ने व्यवस्था गर्न, प्रत्येक वडा तहलाई बालश्रममुक्त वडा घोषणका लागि बालश्रमिक समेतको सहभागितामा बालभेला आयोजना गरी कार्यक्रमसहित कार्ययोजना निर्माण गर्न, बालश्रमिकहरुको पुनस्थापनाका लागि उद्दार, अस्थायी संरक्षण तथा पुनस्र्थापना सेवामा बजेट विनियोजन गर्न र पालिकाभित्र सञ्चालनमा रहेका उद्योग, व्यवसायलाई बालश्रममुक्त उद्योग व्यवसायका रुपमा सञ्चालनका लागि प्रोत्साहनका कार्यक्रमहरु व्यवस्था गर्न माग गरिएको छ ।
पालिका वडा बाल सञ्जालकी अध्यक्ष मुना भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा सञ्जालका सल्लाहरुकारहरु सनिष लो र अस्मिता कार्की, अन्जन सापकोटा र आशीष बुढाथोकीलगायतले सहजीकरण गर्नुभएको थियो ।