सन्दर्भ : एसईई–२०८२ मकवानपुरको नतिजा
१. कक्षा १२ सम्म विद्यालय तहको शिक्षा भनिएपछि कक्षा १० को अन्तमा लिइने विद्यालय शिक्षा परीक्षा (एसईई) लाई विगत झैं चर्चित बनाइनुमा परम्परागत ह्याङओभरले काम गरेको भन्न सकिन्छ । यो परीक्षालाई प्रदेश तहबाट संचालन तथा व्यवस्थापन गर्ने भनी किटानी गरिएको छ । गत वर्षहरुकै निरन्तरता भए तापनि उत्तरपुस्तिका परीक्षणमा भने यो पटक चाँडो मात्र होइन, सम्बन्धित परीक्षा केन्द्रमै जाँच्ने काम भएको थियो । चैत्र १८ गतेबाट शुरु भई २७ गते सकिएको परीक्षाको नतिजा वैशाख २८ गते नै प्रकाशन हुनुलाई सकारात्मक मानिएको छ । गरे सकिन्छ भन्ने सन्देश यो परीक्षाको नतिजाले सिद्ध गरेको छ । यद्यपि उत्तरपुस्तिका परीक्षणमा सम्बन्धित विद्यालय तथा शिक्षकहरुको आपसी सल्लाह र हस्तक्षेपका प्रसंगहरु पनि बाहिर आएका थिए । सायद उच्च ग्रेडको संख्या बृद्धिले कतिपय केन्द्रहरुमा केहि समझदारी भएछ भन्ने सावित गर्छ नै ।
गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बृद्धि भई यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थीहरु कक्षा ११ मा प्रवेशका लागि योग्य अर्थात ग्रेडेड भएका छन् । केन्द्राध्यक्षकै जिम्मेवारीमा भएको उत्तरपुस्तिका परीक्षणले शिक्षकहरु आफ्नो कर्तव्यप्रति जिम्मेवार छन् भन्ने पुष्टि गरेको स्पष्ट छ । परीक्षा बोर्डका अनुसार नियमिततर्फ कूल ४ लाख ४१ हजार ५६६ जनाले परीक्षा आवेदन फारम भरेकोमा परीक्षामा सहभागी भने ४ लाख ३० हजार ६६७ जना भएको जनाइएको छ । फर्म भरेर १० हजार ८९९ जना परीक्षार्थीहरु जाँचमा सहभागी देखिएनन् । २०८१ सालमा एसईई नियमित तर्फको परीक्षा दिने ४ लाख ३८ हजार ८९६ जना भएको र २०८२ सालमा यो संख्या ८ हजार २२९ ले घटेर ४ लाख ३० हजार ६६७ जनाले मात्र परीक्षा दिएको पाईन्छ ।
२. परीक्षा बोर्डका अनुसार, प्रदेशस्तरबाट एसईईलाई हेर्दा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट ९८ हजार ८१७ जना सहभागी मध्ये ७८.०४ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भए भने २१ हजार ७०४ जना अर्थात २१.९६ प्रतिशत विद्यार्थी नन् ग्रेडेड भएका छन् । दोश्रोमा सबैभन्दा बढी मधेश प्रदेशबाट ७६ हजार ३१७ जना सहभागी मध्ये ५८.४३ प्रतिशत मात्र ग्रेडेड भएका र बाँकी ३१,७२५ जना अर्थात ४१.५७ प्रतिशत विद्यार्थी नन् ग्रेडेड भएको देखिन्छ । त्यसैगरी तेश्रोमा सबैभन्दा बढी विद्यार्थी कोशी प्रदेशबाट ७२ हजार २५६ जना सम्मिलित भएकोमा ७०.४३ प्रतिशत ग्रेडेड भएका र २९.५७ प्रतिशत अर्थात २१ हजार ३६६ जना मात्र नन् ग्रेडेड भएको जनाइएको छ । चौथोमा लुम्बिनी प्रदेशबाट ७२ हजार १४९ जना सहभागी भएकोमा ६१.३४ प्रतिशत ग्रेडेड र ३८.६६ प्रतिशत अर्थात २७ हजार ८९३ जना नन् ग्रेडेड भएका छन् ।
पाँचौंमा सुदुरपश्चिम प्रदेशबाट ४२ हजार २९९ जना मध्ये ५१.२२ प्रतिशत मात्र सफल भएका र बाँकी ४८.७८ प्रतिशत अर्थात २० हजार ६३५ जना विद्यार्थीहरु नन् ग्रेडेड भएको भनिएको छ । त्यसैगरी छैठौंमा गण्डकी प्रदेशबाट ३६ हजार ४९३ जना सम्मिलित भएकोमा ७२.७५ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका र बाँकी २७.२५ प्रतिशत अर्थात ९ हजार ९४३ जना नन् ग्रेडेड भएको भनिएको छ । सात प्रदेश मध्ये सातौंमा सबै भन्दा कम विद्यार्थी कर्णाली प्रदेशबाट ३२ हजार ३३६ जना सहभागी भएकोमा ५९.०५ प्रतिशत ग्रेडेड हुन सफल भएका र बाँकी १३ हजार २४१ जना अर्थात ४०.९५ प्रतिशत विद्यार्थीहरु नन् ग्रेडेडमा परेका छन् । सबैभन्दा राम्रो नतिजा बागमती प्रदेशको देखिँदा सुदुरपश्चिम प्रदेशको सबैभन्दा कमजोर नतिजा देखिन्छ । बागमती, गण्डकी र कोशी प्रदेशहरुको मात्र राष्ट्रिय प्रतिशत भन्दा माथि छ भने बाँकी ४ प्रदेशहरु लुम्बिनी, कर्णाली, मधेश र सुदुरपश्चिम प्रदेशको नतिजा राष्ट्रिय प्रतिशत भन्दा कमजोर देखिएको छ ।
३. मकवानपुर जिल्लाको एसईईको नतिजा गत वर्ष भन्दा करिब ५ प्रतिशतले वृद्धि हुँदा यस वर्ष शुन्य ग्रेडेड हुने विद्यालयको संख्या ७ बाट घटेर ४ मा झरेको छ । राष्ट्रिय नतिजाको प्रतिशत भन्दा १४.९९ प्रतिशतले कम नतिजा देखिनु पक्कै राम्रो भन्न सकिन्न । जिल्लाको १० वटा स्थानीय तहमध्ये राक्सिराङ गाउँपालिकाका ३ वटै विद्यालयहरु नील भएका छन् भने भिमफेदी गाउँपालिकाको १ विद्यालय निल भएको छ । अन्य पालिकाहरुको पनि नतिजा कमजोर देखिएका छन् । विद्यालयहरुको प्रयास नभएको होईन । कतिपय पालिकाले परिक्षार्थीलाई क्लोज क्याम्पमा राखेर धेरै मिहिनेत गरेका थिए । हेटौँडा उपमहानगर लगायतका अधिकांश पालिकामा अतिरिक्त कक्षाहरु सत्रभरि नै चलिरहेका थिए । हेटौँडा उपमहानगर र थाहा नगर लगायतका अधिकांश विद्यालयहरुमा विषयगत शिक्षक व्यवस्थापन सवल भएको स्विकार्नै पर्दछ । नतिजा सुधारका लागि भएका मिटिङ, गोष्ठि, भेला, छलफल, वर्कशप, अन्तरक्रियाहरुमा सम्बन्धित पालिकाहरुको चासो, जाँगर र लगानीलाई सकारात्मक रुपमा हेरिएको थियो । राम्रा विद्यालयहरुको भ्रमण, अवलोकन, शेयरिङ र असल अभ्यासहरुको अनुशरण पनि नभएका होईनन् । यी सबै प्रयत्नहरु नतिजामा किन देखिएनन् भन्ने सवाल नै गम्भिर बनेको छ ।
४. अन्तमा, प्रस्तुत नतिजा हाम्रो सन्दर्भमा सन्तोषजनक पटक्कै छैन । मकवानपुरको एसईई नतिजाले यस पटक पनि सम्बन्धित स्थानीय तह र विद्यालयहरुको गम्भिर ध्यानाकर्षण गरेको छ । हामी कहाँ चुक्यौं भनेर गम्भिर समिक्षा गरिनु पर्दछ । कक्षा १० मा पुगेपछि मात्र मिहिनेत गर्ने गराउने संस्कार नै मूल समस्या हो । जग कमजोर भए घर बलियो हुँदैन भन्ने हामी नै हौं । तर, कक्षा १ देखि नै शिक्षण सिकाई क्रियाकलापहरुमा दिनुपर्ने जोड र ध्यान नपुगेकै कारणले आजको अवस्था आइपुगेको हो । कक्षा ३ सम्म लिखित जाँच पर्दैन भन्यौं । अहिले कक्षा ५ सम्म लिखित परीक्षा आवश्यक छैन भनिरहेका छौं । कक्षा ७ सम्म उदार कक्षोन्नति भन्दै वर्ष बितेपछि कक्षा प्रमोशन गर्ने गराउने पनि अरु त होईनन् ।
शिक्षण सिकाईका सीपहरु सुनाई, बोलाई, पढाई र लेखाई यी चारै सीपहरुको निरन्तर अभ्यास नभएकाले र नगराएकाले आजको नतिजा देख्न परेको हो । निरन्तर मूल्याङ्कनलाई औपचारिकतामा सीमित गरिनु पनि यसको प्रमुख कारक भन्नै पर्दछ । स्थानीय तहमा संचालन हुने कक्षा ८ को परीक्षामा पनि गम्भिरता देखिइको छैन । शिक्षक तथा अभिभावकले विद्यार्थीको कक्षा प्रमोशन भन्दा पनि सिकाई उपलब्धिलाई प्राथमिकता दिनु पर्दछ । विद्यार्थीको ब्यवहारमा सिकाई उपलब्धिका कारणले आउने परिवर्तन निश्चय नै राम्रो नतिजाका लक्षण मानिन्छन् ।











