हेटौँडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले जिल्लाका ६५ वडाको अधिवेशन सम्पन्न गरेको छ । मकवानपुर जिल्लाका १०२ वडामध्ये ६५ वडाको अधिवेशन सम्पन्न भएको हो । रास्वपाले वडा तथा पालिका अधिवेशनलाई तीव्रता दिएको छ । मकवानपुरमा रास्वपाले ७५ वडामा तदर्थ समिति गठन गरेको र ६५ वडामा अधिवेशन सम्पन्न गरेको जानकारी दिएको छ । बाँकी वडामा पनि जेठ १६ गतेभित्र अधिवेशन सम्पन्न गर्ने पार्टीले जनाएको छ । रास्वपाले संगठन विस्तारसँगै जिल्ला, प्रदेश तथा केन्द्रीय अधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरेको छ ।
रास्वपा मकवानपुरकी जिल्ला सहसचिव तथा संगठन विभाग प्रमुख शान्ति थापा बिडारीका अनुसार अधिवेशन सम्पन्न भएका वडामध्ये हेटौँडा उपमहानगरपालिकाका १७ वडा, बकैया गाउँपालिकाका ९ वडा, भीमफेदी गाउँपालिकाका सबै ९ वडा, मनहरी गाउँपालिकाका सबै ९ वडा तथा इन्द्रसरोवर गाउँपालिकाका सबै ५ वडा रहेका छन् । थाहा नगरपालिकामा ७, राक्सिराङ गाउँपालिकामा ४ र कैलाश गाउँपालिकामा ३ वडा वडाको अधिवेशन पनि सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
अधिवेशन भएका अधिकांश स्थानमा सहमतिमै नेतृत्व चयन गरिएको भए पनि केही वडामा निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिएको बताइएको छ । उम्मेदवारबिच सहमति नभएको अवस्थामा निर्वाचन समिति गठन गरेर मतदान प्रक्रिया अपनाइएको सहसचिव बिडारीले बताउनुभयो । उहाँका अनुसार पूर्वनिर्धारित मिति सार्वजनिक गरेर सदस्यहरूको सहभागितामा नेतृत्व चयन गर्ने अभ्यास अपनाइएको छ । रास्वपाले वडा अधिवेशनसँगै पालिका संरचना निर्माणको काम पनि अघि बढाएको जनाएको छ । पालिका अधिवेशन सम्पन्न भएको भीमफेदी गाउँपालिकामा बद्री पौडेल सभापतिमा चयन हुनुभएको छ । पौडेल यसअघि नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । पार्टीका अनुसार भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा शिक्षा, खेलकुदलगायत पाँच विभाग गठन भइसकेका छन् ।
पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार समिति गठन नभएका वडाको भेला जेठ २ गते बोलाइएको छ भने वैशाख २० गतेअघि वडा समिति गठन भइसकेका स्थानको वडा अधिवेशन जेठ ३ गते हुनेछ । त्यस्तै, तदर्थ समिति गठन नभएका पालिकाको भेला जेठ ९ गतेका लागि निर्धारण गरिएको छ । वैशाख २५ गतेअघि पालिका समिति गठन भएका स्थानको पालिका अधिवेशन जेठ १० गते र जेठ १० गतेअघि पालिका समिति बनेका स्थानको पालिका अधिवेशन जेठ १७ गते गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । साथै जेठ ३ गतेसम्म वडा समिति गठन भएका स्थानको वडा अधिवेशन जेठ १६ गते सम्पन्न गरिने जनाइएको छ ।
सहसचिव थापाले बाँकी रहेका वडामा अधिवेशन ढिला हुनुको मुख्य कारण दुर्गम क्षेत्रमा इन्टरनेट तथा नेटवर्क समस्या रहेको बताउनुभएको छ । अनलाइन सदस्यता प्रणालीका कारण केही स्थानमा प्रक्रिया प्रभावित भएको भए पनि सबै वडामा तयारी पूरा भएको उहाँको दाबी छ । यसैबिच शुक्रबार सम्पन्न वडा अधिवेशनमा हेटौँडा–११ मा सन्दीप बिडारी, मकवानपुरगढी–३ मा राजु कार्की र मकवानपुरगढी–४ मा श्याम पाख्रिन वडा सभापति चयन हुनुभएको थापाले जानकारी दिनुभयो ।











