हेटौँडाः बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले ईआइए स्वीकृत नगरी संरचना निर्माण गर्ने ३ निजी आयोजनालाई ६६ लाख रुपैयाँ जरिवाना गरेको छ । मन्त्रालयले आदर ट्रेड मल निर्माण आयोजना काठमाडौं, व्यापारिक मल निर्माण आयोजना काठमाडौं र गुड कर्म अपार्टमेन्ट काठमाडौंलाई ईआइए नगरी संरचना निर्माण गरेको भन्दै जरिवाना गरेको हो ।
मन्त्रालयले आदर ट्रेड मल निर्माण आयोजना काठमाडौंको सञ्चालक संस्था आदर मल्टिइन्भेष्टमेन्ट कम्पनी प्रालिलाई ईआइए नगरी संरचना निर्माण गरेको भन्दै २५ लाख रुपैयाँ जरिवाना गरेको हो । जरिवानापश्चात् सो कम्पनीले ईआइए प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गरेको थियो । कम्पनीले पेश गरेको उक्त प्रतिवेदन स्वीकृत भइसकेको मन्त्रालयका अधिकृत सञ्जीव सुवेदीले बताउनुभयो ।
अधिकृत सुवेदीका अनुसार ईआइए प्रतिवेदन तयार नगरी संरचना बनाउने व्यापारिक मल निर्माण आयोजना काठमाडौंका सञ्चालक सुशीलमान गुरुङलाई ११ लाख रुपैयाँ जरिवाना गरेको छ । जरिवानापश्चात् उक्त आयोजनाको ईआइए प्रतिवेदन पेश भएको र मन्त्रालयबाट स्वीकृत गरिएको उहाँले बताउनुभयो ।
ईआइए प्रतिवेदन नबनाई संरचना निर्माण गर्ने गुड कर्म अपार्टमेन्ट काठमाडौंका सञ्चालक संस्था गुड कर्म ग्रुप अफ कम्पनीज प्रालिलाई मन्त्रालयले ३० लाख रुपैयाँ जरिवाना गरेको छ । जरिवानापश्चात् सो कम्पनीले ईआइए प्रतिवेदन मन्त्रालयमा पेश गरेको र स्वीकृतिको चरणमा रहेको उहाँले बताउनुभयो ।