हेटौंडाः कैलाश गाउँपालिका–३, कालिटारस्थित कटुञ्जे स्वास्थ्य चौकीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सयभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शनिबार भएको शिविरमा ५ सय २७ जनाको स्वास्थ्य जाँच गरेको गाउँपालिकाका स्वास्थ्य प्रमुख सुधीर कुसवाहले जानकारी दिनुभयो ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शिविर भएको हो । वृहत् स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तान हुनुहुन्थ्यो । मोक्तानले डाक्टरलाई रक्तचाप मेसिन हस्तान्तरण गर्दै रक्तचाप जाँच गरेर शिविरको उद्घाटन गर्नुभएको हो । शिविरमा छाला तथा यौन, स्त्री तथा प्रसुति, जनरल मेडिसिन, हाडजोर्नी तथा नसा, भिडियो एक्सरे र नाक, कान तथा घाँटीको जाँच गरिएको थियो । स्वास्थ्य जाँच गराएका धेरै सेवाग्राहीलाई छाला र हाडजोर्नीको समस्या देखिएको हो ।
गाउँपालिकाका स्वास्थ्य प्रमुख कुसवाहका अनुसार जाँच गराएका प्रायःलाई सामान्य किसिमको समस्या देखिएको थियो भने करिब २० प्रतिशतलाई अस्पतालमै गएर जाँच गर्नुपर्ने अवस्था देखिएको थियो । शिविरमा हेटौंडा अस्पताल र मनहरी अस्पतालका ५ जना डाक्टरको टोलीले स्वास्थ्य जाँच गर्नुभएको थियो । शिविरमा कैलाश गाउँपालिकाको प्राविधिक सहयोग तथा कैलाश–१०, भाल्टारमा रहेको बालविकास कार्यक्रम नेपालको व्यवस्थापन रहेको थियो ।