बिशभ अधिकारी

भर्खरै सम्पन्न नेकपा एमाले मकवानपुरको बाह्रौं अधिवेशनको चर्चा र जोडघटाउले सबैलाई तरंगित बनायो । यद्यपि निर्वाचनबाट बिजेता भएकाहरु सपथसहित आ–आफ्नो कर्ममा लागिसके । केहीमा अझै चुनावी ह्याङओभर कायमै छ । एमाले मकवानपुरका निर्वाचित अध्यक्ष श्रीधर पोख्रेल पुराना एमालेका नेता हुन् । विद्यार्थी संगठन हुँदै पार्टी संगठनको विभिन्न तहमा रही काम गरेका पोख्रेल एमालेमा योगदान गरेका पुराना अनुभवी र दुख गरेका व्यक्ति हुन् । केही समय पहिले यिनी एमाले फुटेर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका मकवानपुर जिल्ला अध्यक्ष थिए । स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख (मेयर) को टिकट मीना लामाले पाएपछि यिनी एमालेमै फर्किएर एमालेका उम्मेदवारलाई जिताउन निक्कै मिहिनेत गरे । एमाले पंक्तिमा श्रीधर पुरानै दुख गरेका तर लाभको पदमा कहिल्यै नपुगेका नेता हुन् । एमालेमा यिनको (कमव्याक) पुनरागमन निर्वाचित अध्यक्षकै रुपमा जबर्जस्त ढंगबाट भयो । यसपालि एमालेको आन्तरिक निर्वाचनमा रोचक घटनाहरु देखियो ।

जिल्ला नेतृत्व तीन कित्तामा बिभाजित थिए । केन्द्रीय सदस्यहरुका आ–आफ्ना टिम थियो । अझ परोक्षरुपमा डोरमणि सर र कृष्ण दाहालबीचमा कडा प्रतिस्पर्धा भयो भन्ने समाचार बाहिरियो । एमाले मकवानपुरको राजनीति डोरमणि पौडेलकै वरपर छ भन्दा हुन्छ । कसलाई सांसद/मेयर बनाउने यिनैको भूमिका देखिन्थ्यो । गएको अधिवेशनमा पार्टीका पुराना नेताले आफू अध्यक्षमा उठ्न पाउँ भनेर निवेदन हाल्दा समेत सुचना टाँसेर एका लाल श्रेष्ठ अध्यक्ष भएको घटना एमालेभित्र अहिले पनि चर्चा गर्छन् कमरेडहरु । यि सबै डिएम अर्थात डोरमणि बाले निर्णय गराएका हुन् भन्नेहरुको कमि छैन एमालेभित्र ।

तर यसपालि जिल्ला अधिवेशन अलिक फरक देखियो भन्ने चर्चा छ केन्द्रीय सदस्य कृष्ण दाहाल हावी भएको सुनिन थालेको छ । बागमती प्रदेश अध्यक्षमा पराजित दाहाल एमाले मकवानपुरका सशक्त नेता हुन् । पटक–पटक सांसद भएका दाहाल अघिल्लो कार्यकालमा संघीय संसदको अर्थसमितिको अध्यक्ष जस्तो शक्तिशाली पदमा समेत रहेका थिए । त्यस्तै डोरमणि पौडेल राष्ट्रिय राजनीतिका चर्चित व्यक्ति हुन् । बागमती प्रदेशको पहिलो मुख्यमन्त्रीकोरुपमा परिचित पौडेलले बागमती प्रदेशको राजधानी हेटौँडा बनाउन यिनकै पहल र योगदान महत्वपूर्ण रहेको जगजाहेर छ । हेटौँडावासीका लागि यो गौरवको विषय हो । डोरमणि पौडेल मुख्यमन्त्री नभएको भए हेटौँडा राजधानी किमार्थ हुन सक्दैन थियो । बागमती प्रदेशसभा बहुमत सांसद नै हेटौँडालाई अपायक ठान्थे । यिनले चलाखीपूर्वक पार्टी हुवीप लगाएर प्रदेशको राजधानी हेटौँडालाई नै कायम राख्न सफल भए । यो बाहेक डोरमणि पौडेलले हेटौँडा नगरपालिकाको मेयर हुँदा निर्माण गरेको शहिद स्मारक पर्यटकहरुका लागि राम्रो गन्तव्य भएको छ । तर, यति हुँदा पनि पार्टीभित्र यिनी आफ्ना समर्थकलाई मात्र काखी च्याप्छन्, पार्टीभित्र आफ्ना विरोधिलाई निमिट्यान्न पार्न यिनले कुनै कसर बाँकी राख्दैनन् भन्ने आरोप छ । सत्ता र शक्तिमा रहँदा डोरमणि बाका वरिपरी रहनेले मात्र पद, शक्ति प्राप्त गरे बाँकी क्षमता भएर पनि कोपभाजन परेको चर्चा चल्ने गर्छ ।

पार्टी भित्रको शालिन र क्षमता भएका नेताको रुपमा परिचित रामेश्वर रानालाई गएको संसदको निर्वाचनमा ठूलो अन्याय भएको महसूस एमाले पंक्तिले गरेका छन् । कमल थापालाई टिकट दिएर एक सिट एमालेले गुमाउन पुग्यो । बाह्रौं अधिवेशनको प्रमूख अतिथि शंकरपोख्रेल भन्दै थिए, “कमललाई राजा छोडेर गणतन्त्रवादी भएको कारणले टिकट दिइएको थियो, तर यो उनको कृत्रिम प्रतिबद्धता रहेछ ।” कमल थापाले टिकट पाएकोमा कार्यकर्तामा व्यापक असन्तुष्टि थियो, त्यसैको ढाकछोप गर्ने प्रयास शंकर पोख्रेलले गरे । जिल्लाका शीर्ष नेतृत्वले पनि कमल थापाको उम्मेदवारीलाई लिएर दह्रो ढंगबाट बिरोध गरिएन भन्ने गुनासो रहेको थियो । यस्ता थुप्रै घटनाहरुको श्रृंखला प्रदेश कमिटीको अध्यक्षमा पराजित भएको घटनाको पृष्ठभूमिमा भएको बाह्रौं जिल्ला अधिवेशनमा डिएम सरको आशिर्वाद प्राप्तहरु पराजित हुन पुगे । जस्मा राम्रा र लोकप्रिय नेताहरु पनि छन् ।

मकवानपुर संगठनको हिसाबमा एमाले बलियो एक नम्बरको पार्टी हो । जिल्लाभर नै आफ्नो बर्चस्व कायम राख्न सकेको एमाले विस्तारै खस्किँदै गएको छ । गत निर्वाचनमा विपक्षी गठबन्धनको कारणले पनि एमालेले धेरै सिट गुमाउनु परेको हो । नगरपालिकाका मेयर, जिल्ला समन्वय समिति, सांसद, प्रदेश सभा सदस्य र धेरै गाउँपालिकामा एमाले पराजित हुन पुग्यो । सिङ्गै एमाले विभाजनको थोरै असर जिल्लामा परेको छ । यति हुँदा पनि एमाले तुलनात्मकरुपमा सवल पार्टी हो । अब विस्तारै एमालेको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुँदैछ । हिदम लामाहरु जस्ता नयाँ सम्भावना बोकेका युवादेखि महेश बर्तौला जस्ता क्षमतावान युवाहरुले मकवानपुर एमालेमा आफुलाई सशक्तरुपमा स्थापित गरेका छन् । पुराना पुस्ता उमेरको हिसाबले, क्षमताको हिसाबले पनि उनिहरुको जिम्मेवारी कम हुँदै गइसकेको छ । डोरमणि पौडेल नै ७५ बर्ष नाघिसक्नु भयो । तर पनि सक्रिय राजनीतिमा हुनुहुन्छ । धेरै संघ, संस्था आबद्ध हुनु हुन्छ । बुढा बामा गज्जवको स्फूर्ति छ । तर, मैले भन्ने गरेको छु राजनीतिको मापन उमेर होईन । ८१ बर्षका बाईडन पनि अमेरिकी राष्ट्रपति छन् भने चिलीका राष्ट्रपति ग्राबिल बोरिकर, फिनल्याण्डका प्रधानमन्त्री सनामरिन दुबै पैँतीस बर्षका हुन् । स्वास्थ्यले साथ दिँदा र क्रियाशील हुन सक्दा राजनीतिमा उमेर बाधक हुँदैन ।

कमल थापालाई पटक–पटक पराजित गरेर आफ्नो परिचय बनाएका कृष्ण दाहाल धेरै पटक सांसद भए तर राष्ट्रिय राजनीतिमा यिनको भूमिका छैन भन्दा पनि हुन्छ । तर, जिल्लामा यिनको बलियो गुट रहेछ भन्ने देखियो । एउटा अनुशासित पार्टीमा कति तिक्तत्ता रहेछ कि निर्वाचितहरुलाई अर्कोपक्षबाट बधाईसम्म दिएको देखिएन । एमालेभित्र सामान्य सदाशयता र शिष्टाचारको ठूलो खडेरी परेको देखियो । हुन त गएको स्थानीय निर्वाचनमा मेयरका प्रत्यासीलाई नै पार्टीका जिम्मेवार नेताले भोट हालेनन् । हुन त कांग्रेस, एमालेकै सदस्य हुने तर राम्रा मानिस आए मत परिवर्तन गर्ने विगतमा उपनिर्वाचनहरुमा देखिएकै अभ्यास हो । एमाले होस् वा अन्य कम्यूनिष्ट पार्टी सबैमा वैचारिक स्खलन देखिएकै छ । अझ पार्टी भित्र मौलाउन खोजेको निंरकुशताबिरूद्ध बोल्न नसक्ने, बोल्दा राजनीतिक सक्किने अवस्था पनि छ । आन्तरिक लोकतन्त्रको अभ्यास आजको आवश्यकता हो ।

एमाले रुपान्तरण हुँदै लोकतान्त्रिक अभ्यास गर्दै यहाँसम्म आएको परिपक्क राजनीतिक दल हो । कम्यूनिष्ट ईतिहासमा मकवानपुरको विशिष्ट स्थान छ । रुपचन्द्र विष्ट, भक्तवहादुर श्रेष्ठ, बद्री खतिवडाहरुको योगदान अविष्मरणीय छ । पछिल्लो समय मकवानपुर एमालेमा शीर्ष तहमा पुग्न सफल भएका नेतामा डोरमणि बा नै हुन् । यिनका आफ्नै विशेषता छ । लामो राजनीतिक यात्रामा यिनले आफ्नो छवि र चरित्रलाई जोगाएर यहाँसम्म आईपुगे । राजनीतिमा उतारचढाव हुन्छ नै । उमेरको उतरार्धमा पुग्दा पनि डोरमणि बाको क्रियाशीलता र फूर्ति देख्दा लोभ लागेर आउँछ । केपी बा त अझ बीस बर्ष राजनीति गर्छू भन्दैछन् । उनकै पदचिन्हमा हिँडेका मकवानपुरे बा के कम…।

यिनलाई एउटा नमिठो आरोप लाग्ने गरेको छ । हेटौँडाको सडक २५ मिटर विस्तार हुनै नदिने व्यक्ति भनेर । त्यस आरोपलाई आगामी दिनमा यिनले कसरी चिरेर अघि बढ्छन् हेर्न बाँकी छ । समग्रमा राजनीतिमार्फत यो उमेरमा जनताको सेवा जसरी अहोरात्र लागि रहनु भएको छ । त्यस्का लागि उहाँ सबैका लागि प्रेरणादायी नेता हुनुहुन्छ ।