निबन्ध लेखनसम्बन्धी अभिमुखीकरण तथा स्थलगत निबन्ध लेखन प्रतियोगितामा सहभागी विद्यार्थी ।

हेटौँडाः मातृभूमि साहित्य समाज मकवानपुरले आयोजना गरेको स्थलगत निबन्ध लेखन प्रतियोगितामा ६३ जना विद्यार्थी सहभागी भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेका ४ वटा विद्यालयका विद्यार्थीका लागि आयोजना गरेको स्थलगत निबन्ध लेखन प्रतियोगितामा ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत ६३ जना विद्यार्थी सहभागी भएका हुन् ।

शुक्रबार तुलसीमेहर मेमोरियल स्कूलमा आयोजित कार्यक्रममा तुलसीमेहर मेमोरियल स्कूल, सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी, ज्ञानदा माध्यमिक विद्यालय र संस्कृत वेद विद्यालयका विद्यार्थी सहभागी थिए । वडा कार्यालयको आर्थिक सहयोगमा भएको प्रतियोगितामा सहभागीलाई “सामाजिक सञ्जालको बढ्दो प्रयोग” शीर्षकमा निबन्ध लेख्न दिइएको थियो । विद्यार्थीले लेखेका निबन्धहरु मूल्यांकन समितिले आइतबार नतीजा तयार पारेर मंगलबारसम्ममा पुरस्कृत गरिनेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने निबन्धलाई क्रमशः ३ हजार, २ हजार, १ हजार र पाँच सय रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षता तथा वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा निबन्ध लेखन कार्यक्रम भएको हो । स्थलगत निबन्ध लेखनअघि विद्यार्थीलाई निबन्ध लेखनको विषयमा अभिमुखीकरण समेत गराइएको थियो । निबन्ध विधा र निबन्ध लेखनको विषयमा मकवानपुर बहुमुखी क्याम्पसकी नेपाली भाषा, साहित्यकी उपप्राध्यापक नीरा शर्माले विद्यार्थीलाई अभिमुखीकरण गराउनुभएको थियो । अभिमुखीकरणपछि ४५ मिनेटको समय दिएर निबन्ध लेख्न लगाइएको थियो ।

कार्यक्रममा वडा सदस्य साधना श्रेष्ठ, ईश्वरप्रसाद मैनाली, विमल लामा, तुलसीमेहर मेमोरियल स्कूलका प्रिन्सीपल रघुनाथ खराल, मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष देवराज खरेल, हयग्रीव आचार्य, राजबाबु पहाडी, निवर्तमान अध्यक्ष माधबबहादुर पोखरेलको पनि आतिथ्य रहेको थियो ।