हेटौँडाः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आर्थिक संकुचनका कारण राजस्व संकलन न्यून रहेको भन्दै चालु आर्थिक वर्षको बजेटको आसपास बजेट ल्याउने तयारी गरेको हो ।
आर्थिक मन्दीका कारण प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटको आकार केही घट्न सक्ने अनुमान गरिएको छ । तर, प्रदेशका नागरिकहरुको आवश्यकताअनुसार बजेट माग बढी भएकाले व्यवहारिक ढंगबाट अघि बढ्ने सरकारको तयारी रहेको छ । आर्थिक संकटका कारण सरकारको आयस्रोतमा संकुचन चुनौतिका बीच सरकारले बजेट निर्माणलाई तिव्रता दिएको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको छ । ठोसरुपमा बजेट कति अंकको आउँछ भन्नुभन्दा पनि चालु आर्थिक वर्षको अनुपातमा बजेट बनाउने काम भइरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारको आन्तरिक आय र संघीय सरकारबाट प्राप्त हुने अनुदान रकमसमेत कटौती भएकाले बजेट केही प्रभावित हुने उहाँको भनाइ छ । कर, दस्तुर र संघीय सरकारले दिने अनुदानसमेत कटौती भएकाले आगामी आर्थिक वर्षको बजेटलाई चालु आर्थिक वर्षको हाराहारीमा बनाउने उहाँले बताउनुभयो ।
विगतको तुलनामा फरक शैलीबाट बजेट ल्याउने दावी गर्दै आएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आकार घटे पनि व्यवस्थित र व्यवहारिक ढंगबाट बजेट ल्याउने उहाँको दावी छ । मन्त्री थपलियाका अनुसार प्रदेश सरकारले परम्परागत शैलीलाई तोडेर नागरिकमैत्री बजेट निर्माणको चरणमा रहेको छ । सोहीअनुसार मन्त्रालयले आम नागरिकहरुको आवश्यकतालाई पूर्ति गर्न सुझाव संकलनको काम गरिरहेको उहाँले बताउनुभयो ।
ठूला र वृहत् प्रकृतिका योजनासँगै जनताका जीवनस्तरसँग जोड्ने कार्यक्रम आगामी वर्षको बजेटमा समावेश हुने उहाँको भनाइ छ । उत्पादन र उत्पादकत्व वृद्धि, आर्थिक उपार्जन, उद्यमशीलता विकास, रोजगारी र सीपजस्ता क्षेत्र सरकारको बजेटको प्राथमिकतामा रहेको मन्त्री थपलियाले बताउनुभयो । शिक्षा, स्वास्थ्य क्षेत्रको गुणस्तर कायम गर्न र आधारभूत आवश्यकता पूर्ति तथा सुशासनका क्षेत्रमा सरकारले लगानी गर्ने मन्त्री थपलियाले बताउनुभयो । सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै कृषि क्षेत्रको विकास, विस्तार र बजारीकरण गर्दै कृषि उद्यमशीलता प्रवद्र्धन गर्न सरकारले बजेट केन्द्रित गर्ने उहाँले बताउनुभयो । कम स्रोतको प्रयोगबाट जनताका दैनिकीलाई जोड्ने गरी सरकारले आफ्ना कार्यक्रम केन्द्रित गरी बजेट विनियोजन गर्ने उहाँको भनाइ छ ।
प्रदेश सरकारले शिक्षा स्वास्थ्य तथा रोजगारीका विषयलाई बजेटमा प्राथमिकता दिने तयारी गरेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताउनुभयो । रोजगारी सृजना सरकारको विशेष प्राथमिकताको क्षेत्र रहेकाले कृषि, पर्यटन, उद्योगलगायतको क्षेत्रमा सरकारले लगानी बढाउने उहाँले बताउनुभयो ।
शिक्षाको विकासका लागि प्रदेशमा विश्वविद्यालय स्थापनाको संस्थागत संरचना निर्माण गर्न बजेट विनियोजन गरिने उहाँले बताउनुभयो । प्रदेशको विश्वविद्यालयको संरचना निर्माणमा सरकारले बजेट निर्धारण गर्ने तयारी गरेको मन्त्री थपलियाको भनाइ छ । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि सरकारले आवासीय मोडलमा विद्यालयहरुलाई अघि बढाउने र प्राविधिक शिक्षा सुरु गर्न विद्यालय छनौट गरी बजेट विनियोजन गरिने उहाँले जानकारी दिनुभयो । सुरुवाती चरणमा प्रदेशमा केही विद्यालयलाई आवसीय मोडलमा अघि बढाइने र क्रमशः उक्त कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो । प्राविधिक शिक्षालाई जोड दिँदै विद्यार्थीहरुको व्यवहारिक ज्ञान तथा सीप वृद्धिमा सरकारको बजेट केन्द्रित हुने उहाँले बताउनुभयो ।
मन्त्री थपलियाका अनुसार स्वास्थ्य क्षेत्रतर्फ प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुविधासम्पन्न संरचना निर्माणमा सरकारले बजेट विनियोजन गर्ने तयारी छ । प्रतिष्ठानअन्तर्गत रहेर एमबीबीएस अध्यापनका लागि आवश्यक वातावरण तयारी तथा चिकित्सा शिक्षातर्फको अनुसन्धानमा सरकारले काम गर्ने रणनीति निर्माण गरेको उहाँको भनाइ छ । स्वास्थ्य सेवालाई प्रभावकारी र स्तरीय बनाउन प्रादेशिक अस्पतालको स्तरोन्नति र औजार उपकरण खरिद गर्ने, सेवा प्रवाहको गुणस्तर वृद्धि गर्ने लगायतका काममा सरकारले बजेट दिने तयारी गरेको उहाँले बताउनुभयो ।
प्रादेशिक अस्पतालबाट विशेषज्ञ डाक्टरसहितको सेवा प्रवाह गर्ने गरी विकास गर्ने सरकारको तयारी रहेको उहाँको भनाइ छ । प्रदेशका अन्य ५ वटा अस्पताललाई बजेट दिएर प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने तयारी रहेको पनि उहाँले बताउनुभयो । विपन्न नागरिकलाई स्वास्थ्यको सहज पहुँचका लागि सरकारले कार्यक्रम निर्धारण गरी बजेट तयार पारेको मन्त्री थपलियाले बताउनुभयो ।
‘कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धिका लागि मासरुपमा कार्यक्रम सञ्चालन गर्ने, समुदायमा आधारित कृषि अनुदान, औजार उपकरण तथा प्रविधिको प्रयोगमा कृषकहरुलाई सघाउने कार्यक्रम सञ्चालन गरिनेछ’, मन्त्री थपलियाले भन्नुभयो, ‘प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा एक÷एक वटा प्राङ्गारिक मल कारखाना निर्माण गर्ने, दूध उत्पादन वृद्धिका लागि वितरण गरिँदै आएको अनुदानलाई निरन्तरता दिने, व्यावसायिक कृषि उत्पादनलाई प्रोत्साहन गर्ने, कृषि उत्पादनको भण्डारण तथा बजारीकरणका लागि नयाँ मोडल तयार पार्ने, प्रदेशमा निर्माण भएको दुग्ध पाउडर प्लाण्टको मोडल तयार गरी सञ्चालन गर्नेलगायतको कार्यक्रमले बजेट पाउनेछ ।’
पर्यटकीय गन्तव्यहरुको विकासका लागि संरचना निर्माण तथा प्रवद्र्धनमा सरकारको रणनीति रहेको उहाँले बताउनुभयो । साँस्कृतिक सम्पदा संरक्षण तथा विकास र प्रचारप्रसारका कार्यक्रममा सरकारको बजेट रहने उहाँको भनाइ छ । मन्त्री थपलियाले प्रदेशका लोपोन्मुख जातजाति, भाषा, संस्कृति संरक्षण तथा सम्वद्र्धनका लागि सरकारले उचित बजेट विनियोजन गर्ने बताउनुभयो । प्रदेशमा पर्यटकीय गन्तव्य घोषणा गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी रहेको उहाँले बताउनुभयो ।
‘पूर्वाधार विकासतर्फ प्रदेश राजधानी पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने, हेटौँडा–काठमाडौं जोड्ने सडक पूर्वाधारलाई पूर्णता दिने, प्रदेश गुरुयोजनामा समावेश भएका सडक आयोजनालाई तीव्र गतिमा अघि बढाउने सरकारको तयारी रहेको छ’, मन्त्री थपलियाले भन्नुभयो । आयआर्जन वृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, सीप वर्ष घोषणा गरी प्रदेशका युवाहरुलाई सीपसहित उत्पादन तथा व्यावसायिकतामा जोड्न बीउ पुँजी प्रदान गर्नेलगायतका कार्यक्रम रहने उहाँले बताउनुभयो । उद्योग क्षेत्रको विकासमा संघीय सरकारसँगको समन्वयमा सरकारले लगानी बढाउने तयारी गरेको उहाँको भनाइ छ । बन्द तथा जीर्ण उद्योग सञ्चालनको पहल गर्ने र औद्योगिक बजार निर्माणमा सरकारले काम गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।