साकेला नृत्य प्रस्तुत गर्दै ।

हेटौँडाः हेटौँडा–१० स्थित ड्रिम्स म्युजिक स्कूल प्रालिले विद्यालय तहमा प्रशिक्षणमा सहभागी भएका बालबालिकाको नृत्य, गायन तथा अभिनय कलाको प्रस्तुती कार्यक्रम गरेको छ । शुक्रबार हेटौँडा–४ स्थित रोयल प्यालेसमा विद्यालयका शिक्षक, अभिभावकको उपस्थितिमा बालबालिकाको कला प्रस्तुतीको कार्यक्रम गरिएको हो ।

बालबालिकालाई एकल तथा सामूहिकरुपमा आआफ्ना कला प्रस्तुत गरेका थिए । ड्रिम्स म्युजिक स्कूलले हेटौँडा–१ स्थित अमर मावि, हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय मावि, हेटौँडा–५ स्थित लक्ष्मी आधारभूत विद्यालय, हेटौँडा–८ स्थित चन्द्रोदय मावि, हेटौँडा–९ स्थित त्रिवेणी आधारभूत विद्यालय र हेटौँडा–१० स्थित ज्ञानदा माविका विद्यार्थीले गायन, नृत्य तथा नाटक कला प्रस्तुत गरेका हुन् ।

ड्रिम्स स्कूलले शैक्षिक सत्र २०८० को असार महिनादेखि फागुनसम्म विद्यालयमै पुगेर बालबालिकालाई गायन, नृत्य र अभिनय कला बारे प्रशिक्षण गर्दै आएको र विद्यालयमा सिकेको कलालाई साझ एउटा थलोमा प्रस्तुतीको अवसर प्रदान गरिएको ड्रिम्स म्युजिक स्कूलका सञ्चालक अनन्त खुलालले जानकारी दिनुभयो । विद्यालयमा करिब ६ सय बालबालिका कला प्रशिक्षणमा सहभागी भएका थिए । प्रशिक्षणमा सहभागी मध्ये ७५ जनाले प्रस्तुती गरेका थिए ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा प्रस्तुती कार्यक्रम भएको हो । कला प्रस्तुतीले विद्यार्थीमा आत्मबल विकास गर्न सहयोग पुग्ने अपेक्षा आयोजकको छ । कार्यक्रममा अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो । चालु शैक्षिक सत्रमा पनि विद्यालय तहमा कलासम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षणको कार्यक्रमलाई नियमितता दिने सञ्चालक खुलालको भनाइ छ ।