रिवन काटेर पुल उद्घाटन गर्नुहुँदै प्रदेश सभा सदस्इ ईन्द्रबहादुर बानियाँ ।

हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नै स्रोतबाट ५ वटा पक्की पुल निर्माण सम्पन्न गर्ने चरणमा रहेको छ । पालिकाले आफ्नो आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा ३ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ भने २ वटा निर्माणको अन्तिम चरणमा रहेको छ ।

गाउँपालिकाको २० करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण गरिएको हो । बागमती प्रदेश सभा सदस्य ईन्द्र बहादुर बानियाँले शनिबार एकसाथ तीनवटै पुलको उद्घाटन गर्नुभयो । रणनीतिक योजनाको रुपमा विभिन्न वडाहरु जोड्न उक्त पुलहरु निर्माण गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिनुभयो । सो स्थानमा पक्की पुल नहुँदा साविकको हाँडीखोला गाविसका स्थानीयहरु समस्या भोग्दै आएका थिए । पक्की पुल नहुँदा सो क्षेत्रका अधिकांश गाउँहरु वर्षायाममा हेटौँडासँग सम्पर्कविहीन हुने गरेको अध्यक्ष कालाखेतीले बताउनुभयो ।

पालिकाले विभिन्न स्थानमा ५ वटा पक्की पुल निर्माणको सुरुवात गरेको भएपनि पहिलो चरणमा समापन भएको तीन वटाको शनिबार उद्घाटन गरेको अध्यक्ष कालाखेतीे बताउनुभयो । उहाँका अनुसार हिराचन÷बानियाँ जेभीले निर्माण गरेको मनहरी–३ र ४ नम्बर वडालाई जोड्न लामिटार र ट्वाङ्ग्रा खोलामा ६ करोड ४९ लाख ६० हजार रुपैयाँ लागतमा ६४.१५ मिटर लम्बाइको तथा ४ र ३ नम्बर वडाको गोलघर र मिलडाँडा जोड्ने ७४.५५ मिटर लम्बाइको पुल ६ करोड ५९ लाख ५० हजार ६३ रुपैयाँ लागतमा डबल स्पानको निर्माण गरिएको हो ।

१ र २ नम्बर वडाको पार्ता र च्यापल जोड्ने ट्रिपल स्पानको ९७ मिटर लामो पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँमा निर्माण गरिएको उहाँले बताउनुभयो । अध्यक्ष कालाखेतीले निर्माणाधिन अवस्थामा रहेका बाँकी २ वटा पुल निर्माण कार्य आगामी मंसिरसम्म सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई आवश्यक सहकार्य भइरहेको बताउनुभयो । निर्माणाधिन अवस्थामा रहेको ठाडोखोला पुल ८५ प्रतिशत र हाँडीखोला पुल ६३ प्रतिशत सम्पन्न भइसकेको उहाँको भनाई छ ।