हेटौँडाः हेटौँडा–५, पिप्लेस्थित पिप्ले युवा क्लबको अध्यक्षमा सुविन घिमिरे सर्वसम्मत चयन हुनुभएको छ । शनिबार पिप्ले–क्याम्पस रंगशालाको सभाहलमा भएको क्लबको आठौं अधिवेशनबाट सर्वसम्मत घिमिरे अध्यक्ष चयन हुनुभएको हो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुदीप ठकुरी, उपाध्यक्षमा रणबहादुर खनाल (बाबु किङ), सचिवमा दिपेन्द्र ढकाल, कोषाध्यक्षमा विवेक शर्मा अर्याल र सहसचिवमा आवेश लामा चयन हुनुभएको छ ।

यस्तै सदस्यमा अनुज कार्की, विवेक अर्याल, रवि थापा, नरेन्द्र मोक्तान र निरञ्जन मानन्धर चयन हुनुभएको छ । निवर्तमान अध्यक्ष सुशील घिमिरेको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । नवनिर्वाचित अध्यक्ष सुविन घिमिरेले क्लबले दोस्रो पिप्ले–क्याम्पा गोल्डकप प्रतियोगिता आयोजना गर्ने, युथ फुटबल एकेडेमी सञ्चालन गर्ने र शहीद स्मारक सी डिभिजन छनोट प्रतियोगितामा सहभागिता जनाउने बताउनुभएको छ । पिप्ले युवा क्लबको अग्रसरतामा पिप्ले–क्याम्पा रंगशाला निर्माण सम्पन्न भएको छ ।