हेटौंडा देशकै मध्ये भागमा पर्ने महत्वपूर्ण शहर हो । देशको पूर्व–पश्चिम यात्रा गर्दा हेटौंडा भएरै गर्नुपर्छ । संघीय राजधानी काठमाडौंलाई मध्य तराई र पूर्वी क्षेत्रसँग जोड्ने काम पनि हेटौंडाले गरिरहेको छ । विगतमा तराई तथा भारतबाट काठमाडौं आवागमन गर्ने बाटोको रुपमा परिचित हेटौंडाको बारेमा प्रायः देशभरका मानिस जानकार छन् । अहिले बागमती प्रदेशको राजधानी भएपछि यसको चर्चा बढेको छ भने परिचय पनि फेरिएको छ । बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हो, हेटौंडा । थुप्रै राष्ट्रिय राजमार्गबाट जोडिएको हेटौंडा मानिस बसोबासका आधारमा पनि उपयुक्त स्थान मानिन्छ । सुन्दर, सफा र हरित शहरको रुपमा चिनिने हेटौंडा जति समुन्नत र व्यवस्थित अनि विकसित हुनुपर्ने हो, त्यति हुन सकेको छैन । मुख्य बजार क्षेत्रका साँघुरा राजमार्ग, राजमार्गसँग जोडिएको जीर्ण र पुराना घर, सीमित क्षेत्रमा फैलिएको बजार, अव्यवस्थित पार्किङ, बढ्दो सवारी चापले हेटौंडाको सुन्दरतासँगै पहिचान पनि गुम्दै गएको छ ।

प्रदेश राजधानी भएपछि हेटौंडाको मुहार फेरिने र यो शहर समुन्नत र व्यवस्थित हुने हेटौंडाबासीको आशा पूरा हुने कुनै आधार देखिएको छैन । विशेषगरी हेटौंडा बजार क्षेत्रको राजमार्ग फराकिलो नहुँदा हेटौंडा शहरको आधुनिकीकरण र विकासको गति रोकिएको मान्ने गरिन्छ । राजमार्ग विस्तार हुने वा नहुने भन्ने द्विविधाका कारण मुख्य बजार क्षेत्रको विकास दशकौंदेखि ठप्पप्रायः छ । हेटौंडालाई समुन्नत र व्यवस्थित शहरको रुपमा विकास गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले पञ्चवर्षीय आवधिक योजना तयार पारेको छ । ४४ वटा गौरवको आयोजनासहित उपमहानगरले तयार पारेको ५ वर्षे आवधिक योजना शुक्रबार सार्वजनिक गरेको छ । ६ अर्ब ५६ करोड रुपैयाँ खर्चने लक्ष्यसहित उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/०८२ देखि २०८५/०८६ सम्मको आवधिक योजना तयार गरेको हो । उपमहानगरपालिकाले हेटौंडामा विजनेस कम्प्लेक्स, बस टर्मिनल, प्रादेशिक थोक कृषि बजार र चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेको छ । यस्तै, गुम्बाडाँडामा अन्तर्राष्ट्रिय कार्यशाला पार्क निर्माण, कर्रा करिडोर निर्माण तथा अटो भिलेज निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।

उपमहानगरले प्राथमिकतामा राखेको बस टर्मिनल र कृषि थोक बजार निर्माणाधीन छ । विजनेस कम्प्लेक्स ठेक्का लागेर पनि निर्माण सुरु हुन सकेको छैन भने चक्रपथ र अटो भिलेज निर्माणको कुरा दशकौंदेखि चर्चामा मात्र सीमित छ । उपमहानगरपालिकाले हेटौंडा–३, बसामाडीमा ट्रक टर्मिनल निर्माण र हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थान परिसरमा जियोलोजिक पार्क निर्माणको योजना पनि अघि सारेको छ । आर्थिक, सामाजिक, पूर्वाधार, संस्थागत विकास, वन, वातावरण तथा विपद् व्यवस्थापनलाई मध्यनजर गरेर गौरवको योजना तयार गरेको उपमहानगरपालिकासँग उक्त योजना सम्पन्न गर्ने पर्याप्त आन्तरिक स्रोत छैन । आन्तरिक आय सीमित भएका कारण उपमहानगरले तयार पारेको पञ्चवर्षीय योजना सम्पन्न गर्न प्रदेश तथा संघीय सरकारमा भर पर्नुपर्ने अवस्थाले योजना कार्यान्वयन निश्चित छैन ।

अहिलेकै स्रोत र सोचबाट हेटौंडालाई समुन्नत बनाउन सहज देखिँदैन । प्रदेश राजधानी सुहाउँदो शहरीकरणसँगै सार्वजनिक संरचनाको उपयुक्त व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिकाले तयार गरेको पञ्चवर्षीय योजनाको प्रभावकारी कार्यान्वयन आवश्यक छ । दीर्घकालीन र उपयुक्त योजना आउला, त्यसको प्रभावकारी कार्यान्वयन होला अनि समुन्नत र व्यवस्थित हेटौंडा बन्ला भन्ने प्रतीक्षामा वर्षौं बितिसकेको छ । व्यवस्थित शहरका लागि आवश्यक खुला भाग, फराकिला सडक र फुटपाथ, व्यवस्थित र पर्याप्त पार्किङ, आधुनिक भवन तथा कम्प्लेक्स हुनुपर्छ । बढ्दो जनघनत्व र शहरीकरणसँगै शहरी क्षेत्रमा ठूला सार्वजनिक यातायात साधन सञ्चालन हुनुपर्छ । उपमहानगरपालिकाको ग्रामीण क्षेत्रमा व्यवस्थित शहरीकरणलाई पनि उच्च प्राथमिकतामा राख्न सकेमा भविष्यमा समुन्नत र व्यवस्थित हेटौंडाको कल्पना गर्न सकिन्छ ।