विश्वविद्यालय संरक्षक समितिको सदस्य मनोनितलाई प्रमाणपत्र वितरणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडाः बागमती विश्वविद्यालय संरक्षक (बोर्ड अफ ट्रष्टी) मा छ जना सदस्य मनोनित भएका छन् । बोर्ड अफ ट्रष्टी मनोनित ५ जना सदस्यलाई प्रदेश सरकारले शुक्रबार मनोनयन पत्र हस्तान्तरण गरेको छ ।

एक पदेन सदस्यसहित ५ जना सदस्यलाई मनोनयनपत्र प्रदान गरिएको हो । प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले बोर्ड अफ ट्रष्टीका सदस्यहरु डा. चन्द्रमणि पौडेल, कृष्ण कटुवाल, नूररानी ढुङ्गेल, किरण चन्द्र दाहाल र बच्चुराम अधिकारीलाई मनोनयन पत्र प्रदान गर्नुभएको हो । समितिमा सामाजिक विकास मन्त्रालयका सचिव पदेन सदस्य रहने व्यवस्था अनुसार राजन पौडेललाई मनोनयन पत्र प्रदान गरेको हो । समितिमा ११ जना सदस्य रहने व्यवस्था रहेको छ । अन्य सदस्यहरु क्रमशः थप गर्ने मन्त्रालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले वर्तमान शिक्षा नीति, परीक्षा प्रणाली र पाठ्यक्रम परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । शिक्षा नीति, पाठ्यक्रम र परीक्षा प्रणाली ठिक नहुँदा बारम्बार समस्या र प्रश्न उठ्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार शिक्षा नीति परिवर्तन गरी व्यवहारिक र व्यावसायिकता तर्फ केन्द्रीत गर्नुपर्ने हुन्छ । प्राविधिक शिक्षाको पाठ्यक्रम निर्माण गर्ने र परीक्षा प्रणाली मेरिट मोडलमा लैजानुपर्ने उहाँको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले शिक्षा प्रणाली समसामयिक नहुँदा शैक्षिक बेरोजगारी बढ्दो क्रममा रहेको बताउनुभयो । शिक्षा नीतिका कारण विद्यार्थीहरु पढ्नको निम्ति विदेश नै जानुपर्ने, हातमा प्रमाणपत्र भएपनि भौतारिनुपर्ने बाध्यता देखिएको उहाँको भनाई छ ।

‘शिक्षामा आमूल परिवर्तन नभएसम्म मुलुक बन्न सक्दैन त्यसैले प्रदेश सरकारले शिक्षा प्रणालीमा परिवर्तनका लागि काम गर्ने तयारी अगाडि बढाएको छ’, उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले स्थापना गर्ने विश्वविद्यालय पूर्ण प्राविधिक धारको हुन्छ । प्रदेश सरकारको एक अधिकार क्षेत्रमा रहेको उच्च शिक्षालाई व्यवहारिक र व्यावसायिक बनाउन नीतिगत रुपमा परिमार्जन गर्ने तयारी अघि बढाएको छ ।’

उहाँले प्रदेशको सार्वजनिक विश्वविद्यालय स्थापनालाई तिव्रता दिएको बताउनुभयो । उहाँका अनुसार प्रदेशको विश्वविद्यालय बोर्ड अफ ट्रष्टी मोडेलमा रहेकाले स्वायत्त रुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयमा स्वतन्त्रपूर्वक काम गर्न सक्ने र राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो । कार्यक्रममा सामाजिक विकासमन्त्री कुमारी मोक्तान, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।