उपाधि साथ विजेता टिम ।

हेटौँडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक ४ नम्बर वडाको ए टिमले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर ८ लाई ४–१ गोलअन्तरले हराउँदै आयोजकले उपाधि जितेको हो ।

४ नम्बर वडाको जितमा सुबास थिङ र अमर पाख्रिनले २–२ गोल गरे । यस्तै ८ नम्बरका अविन भोलनले एक गोल फर्काएका थिए । उपाधि विजेता आयोजक ए ले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ८ नम्बर वडाले १५ हजार रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगितामा ४ नम्बर वडाका क्रमशः सर्वोत्कृष्ट खेलाडी सुबास थिङ, उत्कृष्ट गोलरक्षक पवन आले मगर, उत्कृष्ट डिफेन्डर ज्ञान बहादुर जिम्बा र उत्कृष्ट फरवार्ड अमर पाख्रिन घोषित भए । यस्तै ८ नम्बर वडाका नविन भोलन उत्कृष्ट मिडफिल्डर घोषित भए । शुक्रबार भएको सेमिफाइनल खेलमा वडा नम्बर २ लाई १–० गोलअन्तरले हराउँदै आयोजक ए टिम फाइनलमा प्रवेश गरेको थियो भने वडा नम्बर ६ लाई १–० गोलअन्तरले हराउँदै ८ नम्बर फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताका संयोजक भुगोल माझीको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता समापन कार्यक्रममा ४ नम्बरका वडाध्यक्ष दन्तलाल माझी, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल र बागमती खेलकुद विकास समितिका उपाध्यक्ष मुक्ति लामा लगायतको उपस्थिति रहेको थियो ।