कार्यक्रमको क्रममा खिचिएको तस्वीर

हेटौँडाः बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटाले योजना र रणनीति अनुसार सहकारी चल्नु पर्ने बताउनुभएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा बिहिबार तीन दिने तालिम तथा अन्तरक्रियाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष देवकोटाले सहकारीमा रणनीति बनाउनु पर्ने भन्नुहुँदै योजना र रणनीति अनुसार सहकारी सञ्चालन हुनु पर्ने बताउनुभएको हो ।

२ प्रतिशत सहकारी समस्या देखिएको कारण अन्य सहकारीमा पनि जोखिम हुने उहाँको भनाइ थियो । सहकारीमा कार्ययोजना सफल हुन नसकेको बताउनुहुँदै देवकोटाले कार्यरत कार्मचारी तथा सदस्यहरु निर्धक्क हुने अवस्था सृजना गर्न जरुरी रहेको उहाँले बताउनुभयो । मकवानपुरको कुनै सहकारीको कारोबार एक अर्ब रहेको छ भने अर्कोको कारोबार ५ अर्ब रहेको छ ।

संघले नियमित रुपमा अनुगमन, तालिम जस्ता कार्यक्रमहरु अघि बढाएको उहाँले बताउनुभयो । सहकारी बिग्रनु सञ्चालकमुखी कर्मचारी हुनु पनि मुख्य कारण भएको उहाँले दावी गर्नुभयो । आयआर्जनमा लगानी गर्न सकिएन भने सहकारीलाई जोखिम हुने देवकोटाले बताउनुभयो । सहकारीमा वित्तीय जोखिम मापन र व्यवस्थापनका रणनीतिबारे तीन दिने तालिममा सहकारी संघका पूर्व कोषाध्यक्ष केशव प्रसाद पोख्रेलले सहजीकरण गर्नुहुनेछ । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न सहकारीका अध्यक्ष, व्यवस्थापनको सहभागिता रहेको छ ।