हेटौंडाः नागरिक उन्मुक्ति पार्टी कार्यालय मकवानपुर घरभाडा नतिरी सम्पर्कविहिन भएको छ । हेटौंडा–१०, अखण्डमार्गस्थित कृष्ण कटुवालको घरमा स्थापना गरिएको पार्टी कार्यालयको घरभाडा नतिरी सम्पर्कविहिन भएपछि घरधनीले प्रहरी, प्रशासन, जनप्रतिनिधिको रोहबरमा ताला खेलेको छ ।
घरभाडा नतिरी सम्पर्कविहिन भएपछि बिहिबार वडाका जनप्रतिनिधि र प्रहरीको उपस्थितिमा कार्यालयमा पार्टीले लगाएको ताला फोरेको छ । कार्यालयभित्र पार्टीका क्रियाशील सदस्यहरुको नवीकरण भएको फाइल, प्लाष्टिकको ३ थान कुसी, एक थान टेबल, सानो मोबाइल फोन र चार थान पार्टीका ब्यानर मात्र फेला परेको छ । घरधनी कृष्ण कटुवालका अनुसार गत असोजबाट पार्टीले तीन वटा कोठासहितको फ्ल्याट भाडामा लिएको थियो । मासिक घर भाडा बत्ति र पानीको महसुलबाहेक १७ हजार रुपैयाँ लिने–दिने भनी सम्झौता गरिएको कटुवालले बताउनुभएको छ । पार्टी कार्यालयले पुस महिनासम्मको भाडा भुक्तानी गरेको थियो । ५ महिनाको भाडा भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।
घरधनी कटुवालले घरभाडा भुक्तानीका लागि पार्टी मकवानपुरका अध्यक्ष विकास वाईबा तामाङलाई फोन गर्दा फोन नउठाएको र एक महिना अघि भाडा दिन्छु भनेर खाता नम्बर मागेदेखि नतिरी सम्पर्कविहिन भएको बताउनुभयो । अहिले पटकपटक फोन गर्दासमेत उनको फोन नउठेपछि आफुले वडा र प्रहरीमा खबर गरेर कोठामा लगाएको ताला फोर्न लगाएको उहाँले बताउनुभयो । उहाँका अनुसार पार्टीका केही नेताहरुलाई सम्पर्क गर्दा पार्टी केन्द्रीय कार्यालयबाट भाडा तिर्न पैसा पठाएपनि अध्यक्ष वाईबाले भुक्तानी नगरी सम्पर्कविहिन भइरहेको बताएका छन् ।
बिहिबार हेटौंडा–१० की जनप्रतिनिधि गोमा सुनार, सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा–१० का अध्यक्ष प्रदीप कँडेल, प्रहरी सहायक हबल्दार सविना पोखरेल र समाजसेवी गोकुल अधिकारीको उपस्थितिमा पार्टीले कोठामा लगाएको ताला फोरिएको हो ।