हेटौँडाः बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछाप जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको पाचँखाल नगरपालिका–९, धान्द्रेखोलामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा पाचँखाल–२ का ५९ वर्षीय चन्द्र बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान ११ बजेर ४० मिनेटको समयमा तामाङ खोल्सामा मृत अवस्थामा फेला परेका थिए । शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६, जारकोटमा बाटोमा लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय लुक्सी तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान ७ बजेको समयमा तामाङ मादक पदार्थ सेवन गरी आफ्नो घरदेखि तालामारङ बजार जाँदै गर्दा बाटोबाट ५ मिटर तल खोल्सामा लडी घाइते भएका थिए । घाइते तामाङलाई उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–५, भित्रीखानीमा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीय मिन बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो ४ बजेर २० मिनेटको समयमा निर्माणाधिन गुम्बामा दान गर्नका लागि आफ्नै बारीको छेउमा रहेको ढुगा फुटाई गिट्टी बनाउने क्रममा माथिबाट झरेको ढुंगाले लाग्दा तामाङ गम्भीर घाइते भएका थिए । घाइते तामाङलाई उपचारका लागि अस्पताल लैजाने पहल भइरहेकोमा साँझ ६ बजे ४५ मिनेटको समयमा आफ्नै घरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।











