हेटौंडाः अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्था रोटरी क्लबको नयाँ कार्यसमितिको कार्यकाल आजबाट सुरु भएको छ । हरेक वर्षको जुलाई १ तारेखमा नयाँ कार्यकाल सुरु हुने गर्दछ । एक वर्षे कार्यकाल रहने रोटरी क्लबले भावी अध्यक्ष एकवर्षअघि नै चयन गर्ने गरेको छ । मकवानपुर जिल्लामा दुईवटा रोटरी क्लब रहेका छन् ।

शिरोमणि प्याकुरेल, अध्यक्ष रोटरी क्लब अफ हेटौंडा

सन् २०२०/२१ का लागि निर्वाचित हुनुभएका रोटरी क्लब अफ हेटौंडाको अध्यक्षमा शिरोमणि प्याकुरेल र रोटरी क्लब अफ मकवानपुरको अध्यक्षमा कविन सांगामीको कार्यकाल सुरु भएको छ । आजबाट रोटरी क्लब अफ हेटौंडामा ईन्द्रप्रसाद नेपाल र रोटरी क्लब अफ मकवानपुरमा रामेश्वर श्रेष्ठको कार्यकाल सकिएको हो । रोटरी क्लबमा ईश्वी सम्वत्अनुसार वर्षको अन्तिममा भावी नेतृत्व चयन गर्ने व्यवस्था छ । वर्षको अन्तिममा निर्वाचित हुने नेतृत्वले जिम्मेवारी प्राप्त गर्नुअघि नै आफ्नो कार्यकालमा गर्ने कामका बारेमा योजना बनाउने गर्छन् ।

कविन सांगामी, अध्यक्ष, रोटरी क्लब अफ मकवानपुर

रोटरी क्लबले मकवानपुर जिल्लामा विभिन्न किसिमका सामाजिक सेवाको काम गरिरहेको छ । विपन्न समुदायलाई लघु कर्जा कार्यक्रम, नियमित आँखा शिविर कार्यक्रम, महिलाको आङ खस्ने समस्यासम्बन्धी स्वास्थ्य शिविर, विद्यालयमा खानेपानी योजना निर्माण लगायतका कार्य गरेको छ । रोटरी क्लबकै अग्रसरतामा हेटौंडास्थित चुरेहिल हस्पिटलमा ३ वटा डायलासिस मेसिन समेत जडान गरिएको छ ।