हेटौँडाः सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको संगठन प्रधानाध्यापक संघ नेपालको मकवानपुर जिल्ला शाखा मंगलबार गठन भएको छ । हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा भएको भेलाले हेटौँडा–१३ स्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ ।
भेलाबाट उपाध्यक्षमा गोमा श्रेष्ठ रानाभाट, सचिवमा रुपक रिजाल, सहसचिवमा रामकृष्ण न्यौपाने, कोषाध्यक्षमा गोविन्द उप्रेती चयन हुनुभएको छ । नवनिर्वाचित समितिको कार्यकाल ४ वर्षको हुनेछ । भेला संयोजन समितिका संयोजक विष्णु श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा प्रधानाध्यापकहरुको जिल्ला भेलाको उद्घाटन समारोह भएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री मोक्तानले प्रधानाध्यापक विद्यालयको मुली भएकोले प्रधानाध्यापकको नेतृत्व सही भयो भने मात्र विद्यालय शिक्षा सुदृढीकरण सम्भव हुने बताउनुभयो । उहाँले प्रधानाध्यापकहरुलाई आफ्नो पेशाको, पदको सम्मान गर्नु सबैभन्दा ठुलो कुरो हुने अवगत गराउनुभयो । प्रधानाध्यापकहरुबीच छलफल, बहस हुनु अत्यावश्यक रहेको औँल्याउनुहुँदै उहाँले शैक्षिक सुधारका लागि प्रधानाध्यापकको नेतृत्व क्षमता विकास गर्न, शिक्षक क्षमता विकास गर्न बागमती प्रदेश सरकारबाट आवश्यक योजना तथा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा समितिको अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले प्रधानाध्यापकहरुको गोलबद्ध भई हरेक असल अभ्यासलाई आदानप्रदान गर्ने, नेतृत्व क्षमतालाई अब्बल बनाई सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक पर्ने सरसहयोग, समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता विकास गर्न, गुणस्तर सुधारमा टेवा पु¥याउन, नयाँ र असल अभ्यासलाई आदानप्रदान गर्न, शिक्षक कर्मचारीहरुको क्षमता विकासका लागि तालिमको समन्वय गर्न प्रधानाध्यापक संघ गठन गरिएको बताइएको छ । कार्यक्रममा मकवानपुर जिल्लाका १० वटै पालिकाका प्रधानाध्यापकको सहभागिता रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले केन्द्र, प्रदेश हुँदै जिल्ला समिति गठनपछि असार पहिलो साता पालिकास्तरमा प्रधानाध्यापक संघलाई विस्तार गरेर प्रधानाध्यापकको क्षमता विकासका कामहरु गरिने बताउनुभएको छ । पालिकास्तरमा समिति गठनपछि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पालिकासँगै सहकार्य गरेर प्रधानाध्यापक संघलाई सहयोगी संस्थाको रुपमा विकसित गर्दै लैजाने योजना रहेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।