हेटौंडाः बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटाले मकवानपुर जिल्लाको सहकारीमा जटिल समस्या नभएको बताउनुभएको छ । अध्यक्ष देवकोटाले एक कार्यक्रममा सहकारीहरुमा भएको समस्याहरु समाधान गर्न सकिने बताउनुभएको हो ।
हेटौंडा उपमहानगरपालिकामा सहर केन्द्रित सहकारीका उपभोक्ताको अपेक्षा ठूलो भएको बताउँदै उक्त क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले गरेको अनुगमन प्रभावकारी रहेको देवकोटाको भनाइ छ । ‘मकवानपुरको सहकारीहरु कुनै सुधार भएका छन् भने कुनै सुधारका क्रममा छन्’, देवकोटाले भन्नुभयो– ‘सुधार हुने सहकारीलाई सुधार गर्न र सुधार नहुने सहकारीलाई कारवाही गर्न आवश्यक छ ।’ धेरै सहकारीका सदस्यहरुले ऋण तिर्न आवश्यक नरहेको अनुभूति गरिरहेकाले त्यसलाई निवारण गर्न बागमती प्रदेश सहकारी महाशाखाले जस्तै स्थानीय तहले पनि परिपत्र जारी गर्नुपर्ने अध्यक्ष देवकोटाले बताउनुभयो ।
मंगलबार मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडले सहकारीमा सुशासनः प्रविधि र एकीकरण विषयमा एक दिवसीय अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा बहस तथा अन्तरक्रिया कार्यक्रमसमेत भएको थियो । कार्यक्रममा मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षता रहेको थियो भने जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष देवकोटाको प्रमुख आतिथ्य रहेको थियो ।
सहकारी सचेतना कार्यक्रमअन्तर्गत् जिल्लाका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, सञ्चालक सदस्य, ऋण तथा लेखा संयोजक र व्यवस्थापकहरुबीच सहकारीमा सुशासन, प्रविधि र एकीकरणसम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
‘अन्य सहकारीका कुरा सिकौं र आप्mनो सहकारीमा कार्यान्वयन गरौं’ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । हेटौंडा उपमहानगरपालिकाभित्र रहेका २ सय १३ वटा सहकारीमध्ये १९ वटा बहुउद्देश्यीय सहकारी छन् ।
सहकारीले आयआर्जनमा लगानी गर्न नसकेको हेटौंडा उपमहानगरपालिका सहकारी विभाग प्रमुख हिमप्रसाद पौडेलले बताउनुभयो । सहकारीको आम्दानीलाई आयआर्जनमा जोडिएन भने सहकारी जहिँको त्यहिँ रहने पौडेलको भनाइ छ । सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको भन्दै सहकारीहरुले सामाजिक रुपान्तरणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा २० वटा उद्योग सञ्चालन गरी एक हजार जनालाई रोजगारी दिने परिकल्पना गरेको जानकारी दिनुभयो ।