हस्ताक्षरपत्रमा हस्ताक्षर गर्दै गढीगाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले वडा नम्बर ३ लाई अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा गरिएको छ । बिहीबार ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरेको सभाध्यक्षतामा गाउँपालिकाको उपाध्यक्ष मानकुमारी पाख्रिनले हस्ताक्षरपत्रमा हस्ताक्षर गरी निःशुल्क शिक्षा वडा घोषणा गरिएको गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयालले जानकारी दिनुभयो ।

संविधानको भाग ३ को धारा ३१ मा शिक्षाको हकअन्तर्गत् रहेको आधारभूत तहसम्म निःशुल्क तथा अनिवार्य शिक्षा र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था छ । उक्त व्यवस्था गाउँपालिकाभित्र लागू गर्ने तयारीका लागि वडामा निःशुल्क शिक्षा घोषणा गरिएको हो ।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, नियमावली २०७७ र अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यविधि २०८० बमोजिम हस्ताक्षरपत्रमा हस्ताक्षर गरी मकवानपुरगढी गाउँपालिका ३ नम्बर वडालाई निःशुल्क शिक्षा वडा घोषणा गरिएको फुयाँलले जानकारी दिनुभयो । २०८५ सालभित्र देशभरका ७ सय ५३ वटा स्थानीय तह नै निःशुल्क शिक्षा घोषणा गर्ने कार्यविधि रहेको छ । यसै कार्यविधिलाई आधार मानेर जेठ महिनाभित्र मकवानपुरगढी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने तयारी गरिएको फुयाँलले जानकारी दिनुभयो । यसअघि मकवानपुरगढी गाउँपालिकाले वडा नम्बर १ लाई अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा गरिसकेको छ ।

यसअघि जेठ ४ गते ५ नम्वर वडा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाका लागि आवश्यक तयारी नपुगेका कारण केही समय पछिका लागि सारिएको उहाँले जानकारी दिनुभयो । यस्तै, आज शुक्रबार ४ नम्बर, १४ गते २ नम्बर वडा, १८ गते ६ नम्बर, १६ गते ७ नम्बर, १७ गते ८ नम्बरलाई निःशुल्क शिक्षा वडा घोषणा गर्ने तयारी रहेको छ । आर्थिक वर्ष २०७९÷०८० मा बागमती गाउँपालिका र कैलाश गाउँपालिकामा निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा भएको छ भने आर्थिक वर्ष २०८०÷०८१ मा मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिका घोषणा गर्ने तयारी रहेको छ ।

कार्यक्रममा स्रोत शिक्षक दासरथी उपाध्याय, गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामबहादुर घलानको उपस्थिति रहेको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँ कमिटी अध्यक्ष अर्जुनप्रसाद दाहाल, नेकपा एमालेको गाउँ कमिटी उपाध्यक्ष जीतबहादुर घिमिरे, नेपाली कांग्रेस वडा ३ का सभापति विजय थोकर, वृहत् खानेपानी तथा रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, भानु माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिलप्रसाद चौलागाईंको पनि आतिथ्य रहेको थियो ।

वडाका विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक, बाल समूह, किशोरी समूह, टोल विकास संस्था, आमा समूह, वडा जनप्रतिनिधिहरु, सहकारी, वन समूहलगायत संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ लाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा गरिएको फुयाँलले जानकारी दिनुभयो ।