हेटौंडाः नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले कांग्रेसले भ्रष्टाचारविरुद्धको मिसन लिनुपर्ने बताउनुभएको छ । बिहीबार ‘प्रजातान्त्रिक दर्पण मकवानपुर’ नामक स्मारिका विमोचन कार्यक्रममा हेटौंडा आउनुभएका गुरुङले यस्तो बताउनुभएको हो ।
अरु पार्टीले मिसन ८४ भन्दै हिँड्ने गरेकोमा कांग्रेसले देशमा सुशासन र भ्रष्टाचार निर्मूल गर्ने मिसन लिएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको हो । भ्रष्टाचारीको कुनै जात, धर्म, पार्टी नहुने भएकाले चाहे काँग्रेसको होस् या अन्य पार्टीको होस् भ्रष्टाचार गरेमा कारबाही हुनुपर्ने नेता गुरुङको भनाइ छ । भ्रष्टाचारको काण्डसँग जोडिएकालाई कारबाहीको नीति लिनुपर्नेमा उहाँको जोड थियो ।
राजनैतिक दलले जनताको पक्षमा काम गर्नुपर्छ भन्ने तर काम कम गर्ने गुरुङको भनाइ छ । कांग्रेस पार्टीको व्यवस्था खराब नभएको बताउँदै पार्टीभित्रको प्रवृति खराब भएको र पार्टीका नेता खराब भएको नेता गुरुङले बताउनुभयो । ‘नेपाली राजनीतिमा गणतन्त्र नेपालको लागि कांग्रेसले रगत नै बगाएर लागि परेका थियो । तर गणतन्त्रका लागि लडिरहँदा नेपाली नागरिकता त्यागेर अमेरिका बसेकाले कुनै योगदान गरेका छैनन्’, उपसभापति गुरुङले भन्नुभयो– ‘अमेरिकाको राष्ट्रपतिको तलब वार्षिक ४ लाख डलर हुन्छ । रवि लामिछानेले मासिक १ लाख डलर कमाउने भनेको ठगेरमात्र सम्भव छ ।’
जनतालाई ठगेर, २ वटा पासपोर्ट र नागरिकता राखेर नेता बन्न नपाइने उहाँको भनाइ छ । ‘वर्तमान राजनीतिले हिजोको दिनको संघर्षलाई बिर्सने काम गरेको छ । जसले राजनीतिमा विकृति फैलिँदै गएको छ । लाखौँ जनता ठग्नेहरू नेता भएका छन् । जसले देश भ्रष्टाचारमा डुबेको छ । पार्टीभित्रको कमी कमजोरी पार्टीभित्रै बसेर समाधान गर्ने हो’, उपसभापति गुरुङले भन्नुभयो ।
पार्टीको महाधिवेशनमा आफूले देशमा भएका वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने नीति लिनुपर्ने भन्दा पार्टीभित्र केन्द्रीय नेताहरू स्थानीय तहबाट जितेर आउनुपर्ने भन्ने कुरामा अलमल गरिरहेको उहाँको भनाइ छ । काँग्रेस पार्टीभित्र नै कमजोरी रहेको बताउँदै सम्पत्ति शुद्धीकरणको एजेण्डा संसद्मा दर्ता गराएको नेता गुरुङले बताउनुभयो । पार्टीभित्र पनि बिग्रेका नेता भएमा बहिस्कार गर्न सक्नुपर्ने गुरुङ बताउनुहुन्छ ।
वर्तमान समयमा गफले नभई कांग्रेस व्यवहारले सुध्रिँदै जानुपर्ने बताउँदै उहाँले भन्नुभयो– ‘राजाको पालामा बीपी प्रधानमन्त्री हुँदा आफ्नो पार्टीका मन्त्रीलाई छानबिन गर्नु भनेर भन्ने आँट गरेका थिए, तर अहिले सबै भ्रष्टाचारमा लिप्त रहेकाले कुनै एउटाले भ्रष्टाचारको फाइल खोल्छु भन्दा नखोल भन्ने र अनुसन्धान गर्नु पर्दा पछि हट्ने गरेका छन् ।’ सबैलाई खानको मात्र ध्यान छ भन्दै अहिले कुनै कमजोरी देखिएमा लुकाउने काम भएको उहाँले बताउनुभयो ।