हेटौंडाः बागमती प्रदेशको कृषि तथा पशुपछी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले तरकारी र फलफूलको विषादी अवशेष परीक्षण हुने बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा हेटौंडा–११ मा निर्माणाधीन प्रादेशिक कृषि थोक बजार निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भएको जानकारी दिँदै निर्माण कार्य सम्पन्न भएलगत्तै तरकारी र फलफूलको विषादी अवशेष परीक्षण हुने उहाँले बताउनुभएको हो ।
मंगलबार मन्त्रालयको सभाहलमा मन्त्री श्रेष्ठले पत्रकार सम्मेलन गर्दै एक वर्षे कार्यकालमा कृषि तथा पशुपछी विकास मन्त्रालयबाट भएको मुख्य प्रगति तथा उपलब्धीहरुको सूची पेश गर्नुभएको छ । सूचीमा १५ वटा बुँदामा नीतिगत उपलब्धी र ११ वटा बुँदामा कार्यक्रमगत उपलब्धी समावेश गरिएको छ ।
मन्त्री डा. श्रेष्ठलेल प्रस्तुत गर्नुभएको मन्त्रालयको उपलब्धीमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनको लागि तयार गरिएको २१ वटा नयाँ तथा ३ वटा पुराना कार्यविधि संशोधन स्वीकृत भएका छन् । मन्त्रालयअन्तर्गतका ३२ वटा कार्यालयहरुको अनुगमन निरीक्षण गरी आवश्यक सुझाव प्रदान गरिएको उहाँले बताउनुभयो । दूधको गुणस्तर सुधारका लागि लिनुपर्ने कदमहरु र प्रोत्साहन अनुदानमा गर्नुपर्ने व्यवस्थाहरुको सम्बन्धमा सुझावहरु प्राप्त भएका छन् ।
बागमती प्रदेशको कृषि विकासको वर्तमान अवस्था र गर्न सकिने प्रयासका सन्दर्भमा कृषि सम्बद्ध विज्ञहरु, सरोकारवालालगायतको सहभागितामा छलफल र अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदेशको कृषि विकासका लागि विभिन्न सुझावहरु प्राप्त भएका छन् । यस्तै, २०८० सालमा लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि एक हप्ते अभियान सञ्चालन गरी ४८ हजार ३ सय ६४ गाईलाई निःशुल्क खोप लगाइएको छ । भेडा बाख्रामा लगाइने पीपीआरका लागि २०८० फागुन १६ देखि २२ गतेसम्म बागमती प्रदेशका १३ पटा जिल्लामा साप्तहप्यापी खोप अभियान सञ्चालन गरिएको थियो । सो अभियानमा ११ लाख ४२ हजार ३ सय २७ वटा भेडाबाख्रालाई पीपीआर रोगविरुद्धको खोप लगाइएको उपलब्धी सूचीमा उल्लेख छ ।
गुणस्तरीय भेटेरिनरी सेवालाई थप विस्तारका लागि भेटेरिनरी अस्पतात तथा पशु सेवा विज्ञ केन्द्र, चितवनको परिसरमा आधुनिक भेटेरिनरी अस्पताल निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको मन्त्री श्रेष्ठले बताउनुभयो । पशु स्वास्थ्य तथा क्लिनिक सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा प्रदेशका २६ स्थानमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनाका लागि निर्माण कार्य अन्तिम चरणमा रहेको जनाइएको छ । यस्तै, स्थानीय तहसँगको साझेदारीमा समुदायमा आधारित खेती प्रणालीमार्फत् कृषि उत्पादनमा आत्मनिर्भर वडा निर्माण गर्न चालु आर्थिक वर्षबाट एक वडा एक कृषि उत्पादन कार्यक्रम सुरुवात गरिएको छ ।
पशुपछी तथा मत्स्य विकास निर्देशनालयबाट सञ्चालित उत्पादनमा आधारित दूधमा अनुदान कार्यक्रमअन्तर्गत् आर्थिक वर्ष २०७९/०८० मा करिब ३० करोड रुपैयाँ दुग्ध उत्पादकहरुलाई प्रवाह भएकाले चालु आर्थिक वर्षमा विनियोजित ५ करोड थौरे भएकाले थप ४५ करोड रुपैयाँ आर्थिक मामिला तथा योजना मन्त्रालयमा माग गरिएको मन्त्री श्रेष्ठले बताउनुभएको छ ।