हेटौँडाः २५६७ औं बुद्धजयन्तीको अवसरमा हिमलयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा मकवानपुरको ऐतिहासिक मकवानपुरगढी देखि गोरखा दरबारसम्मको दुईदिने साइकलयात्रा गरिने भएको छ । मकवानपुरगढी गाउँपालिका–२ को समन्वयमा आन्तरिक पर्यटन प्रवद्र्धनको निम्ति ऐतिहासिक मकवानपुरगढीदेखि गोरखा दरबारसम्म साइकलयात्रा आयोजना गर्न लागिएको हो ।
साइकलयात्रामा १२ जनाले सहभागिता जनाउन लागेको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । आज बिहिबार मकवानपुरगढीबाट सुरु हुने साइकलयात्रा भोलि शुक्रबार साँझ गोरखा दरबार पुगेर समापन गरिने छ । पहिलो दिन मुग्लिनसम्म पुग्ने लक्ष्य रहेको सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले जानकारी दिनुभएको छ । साइकलयात्रा एकतर्फी मात्रै हुने बताइएको छ ।
साइकलयात्रामा ६० वर्ष उमेर पार गरेका ४ जना, ५० वर्ष उमेर पार गरेका ४ जना, ४० वर्ष र ३० वर्ष उमेर पार गरेका २/२ जनाले सहभागिता जनाउने भएका छन् ।
साइकलयात्रामा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्य, उपाध्यक्ष राजु थापामगर, कोषाध्यक्ष लक्ष्मीचरन श्रेष्ठ, सदस्य बुद्धिबहादुर आलेमगर, अशोक जोशी, बरुण खतिवडा, सुरज लिम्बू, दुर्गाप्रसाद लामिछाने, कीर्तन मानन्धर, प्रदीप थापाक्षेत्री, लेखनाथ ढकाल, नबराज नेपालले सहभागिता रहनेछ । सुरज लिम्बुको एउटा हात कृत्रिम रहेको छ । लिम्बु फरकक्षमता भएका व्यक्ति हुनुहुन्छ । हिमालयन राइडर्स सोसाइटीले यसअघि चीनसँगको सीमाक्षेत्र रसुवागढीदेखि भारतको सीमाक्षेत्र ठोरीसम्म १० जनाको साइकलयात्रा गरेको थियो भने पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म १३ जनाको समूहले साइकलयात्रा गरिसकेको छ ।