हेटौंडाः स्याटरडे फिल्न एयरको आयोजनामा सञ्चालन गरिएको तीन दिने कला महोत्सव सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको महोत्सव शनिबार सम्पन्न भएको हो ।
स्याटरडे फिल्न एयरले हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानमा कला प्रस्तुति, कार्यपत्र प्रस्तुति, कला संवाद, प्रत्यक्ष चित्रकला सिर्जनाजस्ता विभिन्न कार्यक्रमहरु गरेको थियो । बिहीबार हेटौंडा–२ स्थित सिद्धार्थ माविको सभाहलबाट सुरु भएको कार्यक्रम शहीद स्मारकमा पुगी सम्पन्न भएको हो । कार्यक्रमको पहिलो दिन बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहाकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले क्यान्भासमा ब्रस स्ट्रोक गरेर उद्घाटन गर्नुभएको थियो ।
महोत्सवको पहिलो दिन उद्घाटनसँगै चित्रकला प्रदर्शनी कार्यक्रम भएको थियो भने सम्मान तथा पुरस्कार वितरणसमेत गरिएको थियो । सो दिन कार्यपत्र प्रस्तुति, कला संवाद र प्रत्यक्ष चित्रकला सिर्जनासमेत भएको थियो । दोस्रो दिन पहिलो सेसनमा भूटनदेवी मन्दिर परिसर, हेटौंडा–१० मा खुल्ला चित्रकला कार्यशाला र भजन गायनको आयोजना गरिएको थियो । दोस्रो सेसनमा पुष्पलाल पार्क सानोपोखरामा चित्रकला कार्यशाला र सांगीतिक प्रस्तुति गरिएको थियो ।
तेस्रो दिन शनिबार पहिलो सेसनमा मनकामना डाँडा, पाथीभरा हेटौंडा भ्यूटावर, गुम्बाडाँडा हर्नामाडी र मकवानपुरगढीमा कला भ्रमणको व्यवस्था गरिएको थियो भने दोस्रो सेसनमा शहीद स्मारकमा खुला चित्रकला कार्यशाला, कला संवाद गरी महोत्सवको समापन गरिएको हो । महोत्सवबाट उठेको ५० प्रतिशत रकम मानवसेवा आश्रममा हस्तान्तरण हुने जनाइएको छ । आइतबार मानवसेवा आश्रममा सबै कलाकृति वितरण तथा प्रस्तुत गरिने स्याटरडे फिल्न एयर हेटौंडाका संयोजक सुजन श्रेष्ठले बताउनुभयो ।