हेटौंडाः बागमती प्रदेशसभामा ४ वटा समितिको नेतृत्व टुङ्गिएको छ । शनिबार प्रदेशसभामा रहेका ६ मध्ये ४ वटा संसदीय समितिहरूको सभापति टुङ्गिएको हो ।
शनिबार भएको निर्वाचन प्रक्रियाबाट प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा र सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसकै श्रीराम लामिछाने चयन हुनुभएको छ । अर्थ तथा विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नुरज बज्राचार्य र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा माओवादी केन्द्रका ठाकुर ढकाल चयन हुनुभएको हो । दिउँसो बसेका संसदीय समितिहरूको बैठकबाट साभपतिहरु सर्वसम्मत चयन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
शुक्रबार दलहरुबिच नेपाली कांग्रेसले दुई, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीले एक÷एक वटा समितिको सभापति लिने सहमति भएको थियो । प्रदेशमा ५ संसदीय समिति रहेकोमा भागबण्डा मिलाउन एक समितिसमेत थप गरिएको थियो । प्रदेशसभामा बाँकी रहेका दुई वटा समितिको सभापतिको लागि भने सोमबार निर्वाचन हुने भएको छ ।
बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले उद्योग, पर्यटन तथा वातावरण समिति र प्रदेश विशेषाधिकार समितिको सभापतिको लागि सोमबार निर्वाचन हुने जानकारी गराउनुभयो । बागमती प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको डेढ वर्षपछि ४ वटा संसदीय समितिहरुले नेतृत्व पाएका हुन् ।