हेटौँडाः हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले स्थापना दिवसको अवसरमा विद्यार्थी, शिक्षक, कर्मचारी र पूर्वशिक्षकलाई सम्मान गरेको छ । ५६ औं स्थापना दिवसको अवसरमा बुधबार बिहान विद्यालयले शिक्षक, विद्यार्थी, कर्मचारी र पूर्व शिक्षकलाई सम्मान गरेको हो ।
विद्यालयले २५ जना पूर्वशिक्षकलाई सम्मान गरेको छ । विद्यालयले ५ जना शिक्षकलाई सम्मान गरेको हो । विद्यालयले पुरुषोत्तम आचार्य, कमल दाहाल, शारदा ओझा, शकुन्तला थापा र अनिषा श्रेष्ठलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो । उत्कृष्ट कर्मचारीमा सरिता राईलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको छ । विद्यालयले एक कक्षादेखि १० कक्षासम्मका उत्कृष्ट नतिजा हासिल गर्ने ३८ जना विद्यार्थीलाई पुरस्कृत गरेको छ । विद्यालयले पुरस्कारस्वरुप विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको विद्यालयका सूचना अधिकारी कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महम्मद समीमको अध्यक्षता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालय र क्याम्पसका प्रमुख, अभिभावक, विद्यार्थी र शिक्षकको उपस्थिति रहेको थियो । विद्यालयले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर विद्यालयले हेटौँडा सामुदायिक आँखा अस्पतालको सहयोगमा बिहिबार, शुक्रबार र आईतबार विद्यालयमा आँखा शिविरको कार्यक्रम आयोजना गरेको छ । यस्तै, विद्यालयले मंगलबार रक्तसञ्चार केन्द्रको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल अहिले २ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।