प्रधानाध्यापक मालती उप्रेती (दायाँ) लाई सहयोग रकम हस्तान्तरण गर्नुहुँदै कल्पना पौडेल ।

हेटौंडाः हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयकी शिक्षक कल्पना पौडेल ढकालले विद्यालयलाई नगद सहयोग गर्नुभएको छ । आफ्नो छोरीको जन्मदिनको अवसरमा शिक्षक पौडेलले विद्यालयलाई २० हजार १ सय रुपैयाँ नगद सहयोग गर्नुभएको हो ।

शिक्षक पौडेलले विद्यालयमा स्थापना गरिएको विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षय कोषमा एक हजार १ सय रुपैयाँ र विद्यालयको भर्याङमा ग्रिलको ढोका निर्माणका लागि १९ हजार रुपैयाँ उपलब्ध गराउनुभएको हो । विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीका अनुसार हालसम्ममा उक्त अक्षयकोषमा ३४ हजार ८ सय ३९ रुपैयाँ संकलन भएको छ ।

अशक्त, जेहेनदार र गरिब विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले प्रधानाध्यापक उप्रेतीले गत फागुनमा आफ्नो छोराको जन्मदिनको अवसरमा ११ हजार १ सय रुपैयाँबाट अक्षयकोषको स्थापना गर्नुभएको थियो । कक्षा १० सम्म पाठनपाठन हुने विद्यालयमा ६ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।