हेटौँडाः बागमती प्रदेश सभाको बैठक आज बुधबार बस्ने भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख भुवन कुमार पाठकले जेठ २ गते बुधबार दिउँसो १ बजे बस्ने गरी अन्त्य गर्नुभएको हो ।
बैठकमा सभामुख पाठकले दोस्रो सभा प्रारम्भ गर्नुहुँदै शून्य समय र विशेष समय नरहने जानकारी गराउँदै प्रदेशका आर्थिक तथा योजना मन्त्री जगन्नाथ थपलियालाई आगामी बर्ष २०८१–०८२ का लागि विनियोजन बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिनुभयो । मन्त्री थपलियाद्वारा उक्त प्रस्ताव पेस पश्चात् सभामुख पाठकले विनियोजन बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभएको हो । उक्त विषयमा जेठ ६ गने आइतबार बिहान ११ बजे बस्ने बैठकमा छलफल हुने सभामुख पाठकले जानकारी सभामा गराउनुभयो ।