मनिता राना
हेटौंडाः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले जिल्लाको ३२ ठाउँमा हात धुने स्टेशन स्थापना गरेको छ । पहिलो चरणमा २० ठाउँमा हात धुने स्टेशन सर्वसाधारणको भीडभाड हुने स्थानमा स्थापना गरिएको रेडक्रस मकावनपुरका कोषाध्यक्ष पिताम्बर बास्तोलाले जानकारी दिनुभयो । दोस्रो चरणमा थप १२ स्थानमा हात धुने स्टेशन स्थापना गरिएको उहाँले बताउनुभयो । रेडक्रसले स्थानीय सरकार तथा विभिन्न सामाजिक संघ, संस्थासँग सहकार्य गरेर हात धुने स्टेशन स्थापना गरेको हो ।
पहिलो चरणमा मकवानपुरको गोगने, नामटार, पालुङ, फाखेल, भीमफेदी, बकैयाको हात्तिसुडे, मनहरी स्वास्थ्य चौकी, हेटौंडा वडा नम्बर ४, ८ र ९ नम्बर वडामा हात धुने स्टेशन निर्माण गरेर हस्तान्तरण गरिएको थियो । हातधुने स्टेशनमा २ सय लिटर क्षमताको पानी ट्याङकी राखिएको छ । हात धुने स्टेशनको सरंक्षणको जिम्मा स्थानीयलाई दिइएको छ । हेटौंडा नगरक्षेत्रका हात धुने स्टेशनमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले निशूल्क पानी उपलब्ध गराएको छ । थप १२ वटा हात धुने स्टेशन पदमपोखरी, मकवानपुरगढी, आमभञ्ज्याङ र नवलपुरमा स्थापना गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
रेडक्रसले मकवानपुरमा लकडाउनको बेला जनचेतनामुलक कार्यहरु गर्ने, मास्क, साबुन, सेनिटाइजर, बाल्टिन जस्ता सामग्री पनि वितरण गरेको छ । मनसुन सुरु भएसँगै रेडक्रस मकवानपुर सम्भावित विपद तथा प्रकोपहरुबाट बच्न पूर्व तयारीमा खटिएको र गाउँपालिकासँग सहकार्य गरेर आगाडि बढ्न छलफल भैरहेको कोषाध्यक्ष बास्तोलाले जानकारी दिनुभएको छ ।