हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा शुक्रबार जिल्लाको मकवानपुरगढी गाउँपालिकाको अनुगमन गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरुले चालु आर्थिक वर्षभित्र गरेका काम तथा प्राप्त उपलब्धी एवम् समस्याका बारेमा बुझ्ने क्रममा शुक्रबार मकवानपुरगढी गाउँपालिकाको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले पालिकाको समग्र विकास निर्माण तथा प्राप्त उपलब्धीका बारेमा जानकारी लिनुका साथै उत्पन्न समस्याका बारेमा छलफल समेत गरेको छ । छलफलका क्रममा जिसस मकवानपुरका प्रमुख खुलालले मकवानपुरगढी गाउँपालिकामा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकाले गाउँपालिकाको योजना पनि सोही क्षेत्र केन्द्रित हुनुपर्ने बताउनुभयो । “कृषि र पर्यटन क्षेत्रको विकास गरेर मकवानपुरगढी गाउँपालिकाले समृद्धि हासिल गर्न सक्छ, त्यसैले स्थानीय विशेषता अनुसारको योजना निर्माण गर्न सके समृद्धि हासिल गर्न सकिन्छ”, प्रमुख खुलालले भन्नुभयो ।
प्रमुख खुलालले भौतिक विकाससँगै स्थानीय तहहरुले सामाजिक तथा आर्थिक समृद्धि हासिल गर्ने कुरामा विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले सहयोगापेक्षि सडकमानवमुक्त, स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता, सामाजिक सुधार, विपद, स्वास्थ्य, शिक्षाका क्षेत्रमा समयमै बजेटको व्यवस्थापन गर्न समेत सुझाव दिनुभयो । साथै प्रमुख खुलालले कोरोनाका कारण प्रभावित शैक्षिक क्षेत्र सुचारु गर्ने तर्फ स्थानीय तहहरुले ध्यान दिनुपर्ने बताउनुभयो । यसका साथै प्रमुख खुलालले जनताले प्रत्यक्ष रुपमा भोग गर्न पाउने र जनताले अनुभुति गर्ने काम गर्न आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष बिदुर हुमागाई, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीलगायत अन्य विषयगत शाखाका कर्मचारीहरुले गाउँपालिकाको समग्र अवस्थाका बारेममा टोलीलाई जानकारी गराउनुभएको थियो । अध्यक्ष हुमागाईले चालु आर्थिक वर्ष २०७६÷०७७ मा गाउँपालिकामा केन्द्र सरकारबाट ३२ करोड १२ लाख ७० हजार, प्रदेश सरकारबाट ४ करोड ८४ हजार, आन्तरिक तर्फ ८ करोड ५२ लाख र राजस्व बाँडफाँडबाट १६ करोड २५ लाख प्राप्त भएको मध्ये जेष्ठ मसान्तसम्ममा केन्द्रको करिब ६८ प्रतिशत, प्रदेशको करिब २८ प्रतिशत, आन्तरिकबाट करिब ३८ प्रतिशत र राजस्व बाँडफाँडबाट प्राप्त रकम मध्ये करिब ५५ प्रतिशत रकम खर्च भएको जानकारी दिईएको छ । चालु आर्थिक वर्षमा चालुतर्फ २८ करोड ३७ लाख ७४ हजार मध्ये करिब ६८ प्रतिशत र पुँजीगत तर्फ ३२ करोड ८७ लाख मध्ये करीब ३५ प्रतिशत र गाउँपालिकाको करिब ४ करोड बेरुजु मध्ये २ करोड ३३ लाख फछ्र्यौट भएको प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले जानकारी दिनुभयो ।
गाउँपालिकामा हालसम्म ६५ वटा ऐन, नियम, निर्देशिका, मार्गदर्शन र कार्यविधि निर्माण भएको जानकारी दिँदै अध्यक्ष हुमागाईले आर्थिक विकास तर्फ करिब ३६ प्रतिशत, पुर्वाधार विकास तर्फ करिब ४० प्रतिशत, सुशासन तथा अन्तरसम्बन्ध क्षेत्रमा करिब ४२ प्रतिशत र सामाजिक विकासतर्फ विनियोजित बजेट मध्ये करिब ४९ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्ममा समग्र बजेट कार्यान्वयनको अवस्था ९० प्रतिशत पुग्ने अपेक्षा गरेको समेत बताउनुभयो ।
गढी गाउँपालिकाको चालु आर्थिक वर्षमा ५ वर्षे आवधिक योजना निर्माण गरेको, पालिकाबाट वडा केन्द्रसम्म जोड्ने सडकमार्ग १२ महिना सुचारु हुने गरी विकास गरेको, विभिन्न वडा जोड्ने पुन निर्माण गरेको, एक घर एक धारा को अवधारणा अनुसार स्वच्छ खानेपानी वितरण भएको, मकवानपुरगढी दरबारमा आवश्यक भौतिक पुर्वाधार निर्माण गरेर मनोरञ्जन कर लागु गर्ने तयारी गरेको, १५ शैय्याको अस्पतालको भवन निर्माण कार्य सुरु गरिएको, शिशुदेखि कक्षा ५ सम्मका सम्पुर्ण विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिएको र यो कार्यक्रम आगामी आर्थिक वर्षमा कक्षा १० सम्म लागु गरिने, दुईवटा विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको, कृषि क्षेत्रमा विभिन्न अनुदानको व्यवस्था गरिएको, पकेट क्षेत्र निर्धारण गरेर माटो परिक्षण प्रयोशाला, दाना उद्योग संचालनलगायत विभिन्न कार्यक्रमहरु कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।
अनुगमन टोलीमा जिसस मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, सीता अधिकारी, समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल लगायतको सहभागिता थियो ।