हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा किसानहरुलाई धमाधम कृषि तथा पशु अनुदान वितरण गरिएको छ । शुक्रबार गाउँपालिकाले १८ वटा कृषक समुह तथा कृषि सहकारी संस्थाहरुलाई खेतबारी जोत्न प्रयोग हुने २२ वटा मिनि ट्रिलर वितरण गरेको छ । यसैगरी गाउँपालिकाले फलफुलका विरुवा, उन्नत जातको बोका लगायतका कृषि तथा पशुपालनको अनुदानहरु वितरण गरिरहेको छ ।
शुक्रबार गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्वाले वडा नम्बर १ देखि ७ सम्मका १८ वटा कृषक समुह तथा कृषि सहकारीहरुलाई मिनि ट्रिलर वितरण गर्नु भएको हो । गाउँपालिकाले ७ हर्जपावरको १० वटा र ९ हर्जपावरको १२ वटा मिनि ट्रिलर ५० प्रतिसत अनुदानमा वितरण गरेको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मिनि ट्रिलर वितरण कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं लामा, लगायत सम्पूर्ण वडाका कृषि प्राविधिक लगायतको उपस्थिति रहेको थियो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै धेरै कृषि तथा पशुपालनको कार्यक्रमहरु समेटेको गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि पनि कृषिलाई उच्च प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाले बिहिबार गाउँपालिकाका एक कृषक फार्म र एक कृषि सहकारीका सदस्यहरुलाई फलफुलको बिरुवा वितरण गरेको छ । कृषि ज्ञानकेन्द्र चितवनको अभियानमुखी फलफुल वृक्षरोपण कार्यक्रम अन्तर्गत किसानहरुलाई पूर्ण अनुदानमा फलफुलका बिरुवा वितरण गरिएको हो । गोरखनाथ दुग्ध उत्पादक सहकारी र गढी मनकामना एग्रो प्रालिलाई वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिनाले फलफुलको बिरुवा वितरण गर्नु भएको हो ।
गाउँपालिकाले शुक्रबार धनकुटाबाट फलफुलको १५ सय बिरुवा ल्याउँदै छ । गाउँपालिकाले १३ सय कागतीको विरुवा, १ सय सुन्तलाको विरुवा र आँप, लिचि र कटहरको विरुवा पनि ल्याइएको गाउँपालिकाका कृषि प्राविधिक चौधरीले बताउनुभयो । गाउँपालिकाका किसानहरुले विरुवा रोप्नको लागि खाडल, मल लगायतका सम्पुर्ण तयारी पुरा गरेको उहाँले बताउनुभयो । बिरुवा छिटै वितरण गरिने उहाँले बताउनुभयो । गाउँपालिकामा छिटफुट सुन्तलाका बोट लगाए पनि व्यावसायिक रुपमा नलगाएको ल्याएको सय विरुवाबाट परिक्षण गर्न लागिएको चौधरीको भनाइ छ । गाउँपालिकाले सम्पुर्ण वडाका विभिन्न ठाउँलाई कृषि तथा पशुको पकेट क्षेत्र पहिचान गरेर विकास गर्ने कार्य गरिरहेको छ ।