
हेटौैंडाः रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका र पालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा र प्रअहरुबीच कार्यसम्पादन पत्रमा हस्ताक्षर भएको हो ।
गाउँपालिकाभित्र सञ्चालनमा रहेका ४२ सामुदायिक विद्यालयहरुको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शैक्षिक विकास गर्न सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत लामाले बताउनुभयो । उक्त करार सम्झौता शैक्षिक सत्र २०८१ का लागि लागू हुने उहाँले बताउनुभयो । विद्यालय र शिक्षकहरुलाई प्रोत्साहन गर्न उक्त सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
विद्यालयमा शैक्षिक, भौतिक, वित्तीय साधनस्रोतको अधिकतम उपयोग गरी शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शैक्षिक विकास गर्ने, शिक्षकको पेशागत विकासका अवसरहरुको विस्तार गरी शिक्षकको शिक्षण क्षमता अभिवृद्धि गर्दै विद्यार्थी सिकाइ उपलब्धीमा सुधार ल्याउने, शिक्षक तथा कर्मचारीहरुलाई आफ्नो कामप्रति जिम्मेवार बनाउने, विद्यार्थी मूल्याङ्कनलाई सिकाइ सुधारका लागि उपयोग गर्ने अवसरहरुको सिर्जना गर्ने उद्देश्यले कार्यसम्पादन सम्झौता भएको हो । यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, प्रशिक्षक तथा कर्मचारी एवम् विद्यार्थी सम्बद्ध समिति÷समूहहरुको अधिकतम परिचालन गरी विद्यालयको समग्र शैक्षिक विकासमार्फत् विद्यार्थी सिकाइका वैकल्पिक अवसरहरुको कार्यान्वयन गर्ने, विद्यालयमा दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिकरुपमा सम्पादित कार्यहरुलाई लिपिबद्ध गरी अभिलेखीकरण गर्ने उद्देश्य रहेको सम्झौतामा उल्लेख छ ।
गाउँपालिकाद्वारा निर्धारित शैक्षिक क्यालेण्डरबमोजिम विद्यालयको वार्षिक कार्यपात्रो निर्माण गरी कार्यान्वयन गर्ने, प्रत्येक शिक्षक÷कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता र विद्यालयको वार्षिक कार्यपात्रोमा उल्लेखित क्रियाकलापहरुमा सूचक तयार गरी कार्यसम्पादन करार सम्झौता गरी, गराई शैक्षिक गुणस्तर अभिवृद्धिका लागि कार्य गर्ने, गराउने कार्य प्रधानाध्यापहरुको भूमिका रहने बताइएको छ । यस्तै, भौतिक व्यवस्थापन, वित्तीय अनुशासन, जनशक्ति व्यवस्थापन, शिक्षक पेसागत विकास, विद्यार्थी सिकाइ मूल्याङ्कनमा विशेष ध्यान दिनुपर्ने जनाइएको छ ।
यसवर्ष उत्कृष्ट विद्यालय घोषणा तथा पुरस्कार वितरण कार्यक्रम हुने प्रमुख प्रशासकीय अधिकृत लामाले बताउनुभयो । वार्षिक प्रस्तुतिकरणको मूल्याङ्कन र अनुगमनबाट तीन वटा मावि र आधारभूत तहको विद्यालयलाई पुरस्कृत गरिने उहाँले बताउनुभयो । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः ३ लाख, २ लाख र १ लाख रुपैयाँ प्रदान गरिने उहाँले बताउनुभयो । उक्त पुरस्कार रकम विद्यालयलाई उपलब्ध गराएपछि विद्यालयले शिक्षकहरुलाई उपलब्ध गराउने पनि उहाँले बताउनुभयो ।
सोमबार नै पालिकाले स्थानीय पाठ्यक्रमको विमोचन गरेको छ । पालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले एक कार्यक्रमका बीच कक्षा १ देखि ८ सम्मका स्थानीय पाठ्यक्रमको विमोचन गर्नुभएको हो । पाठ्यक्रममा पालिकाभित्रका भौगोलिक अवस्था, सांस्कृतिक, धार्मिक एवम् अन्य पक्षका बारेमा उल्लेख रहेको प्रमुख प्रशासकीय अधिकृत लामाले जानकारी दिनुभयो ।