हेटौँडा : हेटौँडा–६, गौरीटार रङ्गशालामा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगितामा भक्तपुरले रोमाञ्चक जित दर्ता गरेको छ । बुधबार भएको दोस्रो खेलमा भक्तपुरले काठमाडौं विरुद्ध १ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । काठमाडौंका कप्तान रित गौतमले सर्वाधिक ६४ रन र नितेश कुमारले ३२ रन बनाए भने अन्य व्याटरहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । भक्तपुरका सुवास खत्री र भूपेन्द्र आचार्यले समान ३–३ विकेट लिए । सक्रिय प्रताप कार्कीले २ विकेट लिए ।
१३४ रनको लक्ष्य पछ्याएको भक्तपुरले ९ विकेट गुमाएर लक्ष्य भेट्टायो । भक्तपुरले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनायो । भक्तपुरको जितका लागि अलराउण्डर प्रदर्शन गर्दै सक्रिय प्रताप कार्कीले २५ रन र रिङजिन लामाले ३७ रन बनाए । काठमाडौंका सन्दिप पराजुलीले एक्लै ५ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् । जारी प्रतियोगितामा भक्तपुरको यो लगातार दोस्रो जित हो भने काठमाडौंको दोस्रो हार हो । पहिलो खेलमा काठमाडौं चितवनसँग ७ विकेटले पराजित भएको थियो । यसअघि बुधबारको पहिलो खेलमा नुवाकोटलाई ललितपुरले ३० रनले पराजित गरेको थियो ।










